काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग हातपात घटनामा संलग्न तीन जना प्रहरीलाई छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको छ ।
माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थलमा जाँचका लागि खटिएका प्रहरीहरूबीच हातपात भएको थियो ।
त्यसमा संलग्न असई संजय तामाङ, प्रहरी जवानद्वय रवि रञ्जन गुप्तान र राजकुमार महतोलाई छानबिनका लागि रानीपोखरी सरुवा गरिएको हो ।
पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी दिपशमशेर राणाका अनुसार उनीहरुलाई छानबिनका लागि केही दिनको लागि त्यहाँ पठाइएको हो ।
दुई पक्षबीच हातपात भएपछि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति बनाएको थियो । समितिमा डिआइजी राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए ।
समितिले असई तामाङलाई निलम्बन र दुई जवानलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको थियो ।
समितिले कारबाही सिफारिस गरेपछि विमानस्थल प्रहरीका प्रमुख रहेका डीआईजी अर्जुन चन्दले असन्तुष्टि व्यक्त गर्दै राजीनामा समेत दिएका थिए ।
उनले बुझाएको राजीनामा प्रहरी प्रधान कार्यालय नक्साल मानव स्रोत विभागले फिर्ता गरिदिएको थियो । राजीनामाबारे पुनर्विचार गर्न भन्दै आईजीपी बसन्तबहादुर कुँवरसहित एआईजीहरूले चन्दलाई सम्पर्क गरेका थिए ।
त्यसयता डीआईजी चन्द १० दिनका लागि बिदामा छन् ।
