काठमाडौं । आफ्नै बहिनीलाई दाजुले बलात्कार गरे, ती बहिनीले दाजुको छोराको अपहरण गरिन्, तपाईंलाई सुन्दा पनि अचम्म लाग्न सक्छ । तर यो घटना वास्तविक हो ।
धादिङको थाक्रेस्थित आग्राखोलामा बस्ने एउटा परिवारमा आफ्नै दाइबाट २५ वर्षीया युवती गर्भवती हुन्छिन् । बच्चा जन्माउन अस्पतालमा जाँदा ७ महिनाको नवजात शिशुको मृत्यु हुन्छ ।
त्यसपछि २० माघमा उनले आफूमाथि बलात्कार गर्ने दाइको १३ महिने छोरालाई अपहरण गरेर काठमाडौँ ल्याउँछिन् । यसरी दाईबाट आफ्नै बहिनी बलात्कारको शिकार हुने र ती बहिनीले दाईको छोराको अपहरण गर्नुको पछाडि केही कारणहरु छन् ।
बलात्कारको शिकार भएकी बहिनीले दाईको १३ महिने नाबालक छोरालाई काठमाडौँमा ल्याएर उनका साथीहरु कमल बिक र शारदा क्षेत्रीको डेरामा छाडिन् । तनहुँ घर भएर रातोपुल नजिकै बस्ने २७ वर्षीय कमल र ३३ वर्षीया शारदा पति–पत्नी हुन् ।
२१ माघ बिहान ३ बजेतिर वाकिङमा निस्केकाहरुले रातोपुलस्थित फोहोर फाल्ने ठाउँमा बालक रोएको आवाज सुनेपछि प्रहरीलाई खबर गर्छन् । अस्थाई प्रहरी पोष्ट रातोपुलबाट खटिएको टोलीले ती नाबालकको उद्दार गर्छन् ।
ती नाबालकलाई काठमाडौंबाट ल्याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
प्रहरीले बलात्कारमा संलग्न ३३ वर्षीय दाजु र बलात्कृत बहिनीसहित ५ जनालाई पक्राउ गरेको छ । दाजुलाई हाडनातामा बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी मिश्रले जानकारी दिए ।
बलात्कार आरोपी दाइ माघ २१ मा पक्राउ परेका हुन् । बलात्कृत तर, अपहरणमा संलग्न युवतीलाई माघ २४ मा पक्राउ गरेर प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको एसपी मिश्र बताउँछन् ।
त्यस्तै काठमाडौं रातोपुलमा डेरामा बसेर अपहरण गरेको बच्चालाई रातोपुलस्थित सड्कमा राख्न सहयोग गरेको आरोपमा कमल बिक र शारदा क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेर अपहरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
दाजुले बलात्कार गरेको थाहा पाएपछि थाक्रे गाउँपालिका–४ घर भएका देवेन्द्र कुमार थापाले पनि २५ वर्षीया युवतीलाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अहिले ३ जना अपहरण र दुईजना बलात्कार मुद्दामा जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
