तुलसीपुर । दाङका हरेक महोत्सव ठेकेदारले चलाउँछन्, त्यो कुनै नयाँ कुरा होइन् । आयोजक देखावटी एउटा हुन्छ, तर, महोत्सव ठेकेदारले नै चलाउँछन् ।
तर, घोराहीमा सुरु भएको लुम्बिनीस्तरीय दाङ एक्स्पो २०८० दाङ चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सवमा भने ठेकेदारले कार्यक्रम नै कब्जा जमाएको छ ।
कार्यक्रमको उद्घाटन सामान्य प्रशासन मन्त्री अनितादेवी शाहले गरेकी थिइन । उनले एक्सपोले आर्थिक कारोबार बढाउने बताइन् । उनले कोरोनाको समयदेखिको आर्थिक मन्दिलाई यस्ता महोत्सवले चलायमान बनाउने बताइन् ।
ब्यानरमा नै ठेकेदारको कम्पनीको नाम आएको छ । ‘ हामीले पनि महोत्सव लगायौं, पर्खाल लगाउने, पिङ हाल्ने, स्टल बनाउने काम त हामीले ठेक्का दिन्थ्यौं, त्यो सबै महोत्सवले गर्थे’,दाङका एक व्यवसायीले भने, ‘तर,अहिले त ब्यानरमै आफ्नो नाम लेखेर आए, यसले महोत्सवको क्षेत्रमा विकृति फैलाउँछ । आयोजकको काम मञ्चमा आउने, बस्ने बाहेक केही छैन, सबै ठेकेदारको मातहतमा छ ।’
आयोजक चेम्बर भएपनि यसको ठेक्का एम.एम.डि.के.एल. इभेन्ट एण्ड बहुउद्देश्यीय प्रा.लि.ले लिएको छ । यसले आफू अनुकूल कालाकार ल्याउने गरेको छ, भने हरेक काम आफू अनुकूल गर्दै आएको छ ।
यसअघि जिल्लाका हरेक महोत्सव लमहीस्थित विनोद बुढाथोकीले लिने गरेका थिए, तर, चेम्बरले सुर्खेतका भरत वलिलाई एक्सपोको ठेक्का दिएको छ ।
ठेकेदार वलिले नै कार्यक्रम सचिबालयमा बसेर खटन पटन गर्दै आएका छन् । चेम्बरका एक जना पदाधिकारी अनुसार अघिल्लो पटक मेला लगाएकोमा २२ लाख बचत गरेको तर, अहिले १८ लाखमा ठेक्का दिएको बताए ।
चेम्बरले जिल्ला भन्दा बाहिरका व्यक्तिलाई ठेकेदारका रुपमा ल्याएको छ । चेम्बरले फागुन ८ गतेसम्म एक्स्पो सञ्चालन गर्नेछ ।
तुलसीपुरमा आजदेखि नै तुलसिपुर उद्योग वाणिज्य संघले मेला लगाएको छ । त्यहाँ पनि लमहिका बुढाथोकीले ठेक्का पाएका छन् । स्रोतका अनुसार तुलसीपुरको मेला ६० लाख भन्दा माथि रकममा ठेक्का दिएको छ ।
