काठमाडौं । ललितपुर प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोलमा लाग्ने गोलीसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीबाट सोही नगरपालिका- ७ का ३१ वर्षीय सुरेश उप्रेती, सोही स्थानका लायेक लिम्बु रहेका छन् ।
यस्तै प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा प्युठान घर भई भक्तपुर सिरुटार बस्ने मनोज थापा र भारत मधुवन घर भई काठमाडौंको सिनामंगल बस्ने सञ्जय मेहता हुन् ।
उनीहरुलाई प्रहरी प्रभाग लुभुका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सन्तोषकुमार बुढाथोकीको टोलीले प्रक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा चाँगाथलीका नन्दकुमार कन्दङ्वाको घरबाट उनीहरुलाई बुधबार दिउँसो १ बजे पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर, पेस्तोलमा लाग्ने दुई थान गोली अन्य अवैध सामान बरामद गरिएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
