काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् । शुक्रवार डीआईजी चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनामा आफ्नै मातहतका कर्मचारीहरुलाई बचाउन नसकेपछि डीआईजी चन्दले राजीनामा दिएको स्रोतले बतायो ।
डीआईजी चन्दले उक्त प्रकरणमा कारबाहीमा परेका प्रहरी कर्मचारीलाई जोगाउन निकै पहल गरेका थिए । तर, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोग नगर्दा आफ्नै मातहतका कर्मचारी कारबाहीमा परेपछि डीआईजी चन्दले राजीनामा दिएको स्रोतले बतायो ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका आईजीपी वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् । डीआईजी चन्दको सेवा अवधि २०८१ चैतसम्म रहेको थिए ।
