भैरहवा । बिहीबार एक कार्यक्रमको बिच रुपन्देहीको देवदह नगरपालिकाको ढेकावरमा अस्थायी प्रहरी चौकीको नया भवनको उद्घाटन गरिएको छ । चौकीको उद्घाटन लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) कुवेर कडायतले गरेका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०७९ चैत्र २६ गतेको मितिअनुसार २०८० वैशाख १९ गते ढेकावरमा भाडाको घरमा अस्थायी प्रहरी चौकीको सुरुवात गरिएको थियो । सोही चौकीलाई अहिले नगरपालिका तथा स्थानीयहरुको सहयोगमा निर्मित आफ्नै भवनमा स्थानान्तरण गरिएको हो ।
योसँगै रुपन्देहीमा एक वर्षमा तीनवटा प्रहरी चौकी स्थापना भएको छ । सियारी गाउँपालिका अन्र्तगत छपिया, सैनामैना नगरपालिका अन्र्तगत रामापुरमा र देवदह नगरपालिकाको ढेकावरमा प्रहरी चौकीहरु स्थापना गरिएको हो ।
लामो समयदेखि स्थानीयहरुको प्रयासपछि रुपन्देही प्रहरीको प्रयासमा प्रहरी उपस्थिति कम रहेको स्थानमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको हो । यसमा सम्बन्धित पालिकाहरुले पनि महत्वपूण भूमिका खेलेका छन् ।
सुरक्षाको दृष्टिले रुपन्देहीको देवदह नगरपालिकास्थित ढेकावर क्षेत्र अति संवेदनशील क्षेत्रको रुपमा रहेको बताउँदै स्थानीयहरु प्रहरी चौकी स्थापना हुँदा राहत महशुस गरेका छन् । विगतमा उक्त क्षेत्रमा गुण्डागर्दी मौलाएको थियो, जसले स्थानीयहरु त्रासमा थिए ।
चौकी उद्घाटन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले यहाँको सुरक्षाको लागि पटक पटक गरेको प्रयास बल्ल सफल भएको बताए । उनले ढेकावरमा अस्थायी प्रहरी चौकी स्थापना भएको र अब देवदह प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नती गर्न आवश्यक रहेको बताए ।
‘पटक पटक गृहमन्त्रीदेखि सरोकारवाला निकायमा पहल गर्दा पनि खैरेनीमा इलाका प्रहरी कार्यालयमो स्थापना हुन सकेको छैन, जुन अहिलेको पहिला आवश्यकता हो,’ खरेलले भने ‘इलाका प्रहरी कार्यालयको लागि हामीले जग्गा पनि छुट्टयाएका छौं, नगर परिषद्मार्फत पटक पटक बजेट पनि छुट्टयाउँदै आएका छौं तैपनि हाम्रो प्रयास सफल हुन सकेन् ।’

त्यस्तै सोही कार्यक्रममै बोल्दै लुम्बिनी प्रहरी प्रमुख डिआईजी कडायतले समाजमा सुरक्षा प्रदान गर्न प्रहरी स्वयम पनि सुरक्षित हुन आवश्यक रहेको बताए । ‘प्रहरी हाम्रो लागि हो, प्रहरी हाम्रो आवश्यकता हो भन्ने उद्देश्यले प्रहरी चौकीको भवन निर्माणमा सहयोग गर्नेलाई मेरो धन्यवाद छ,’ कडायतले भने ।
कडायतले समाज सभ्य नभए त्यहाँ विकासको सम्भावना नरहने बताउँदै सभ्य समाज अपराध एवम भयरहित वातावरणमा मात्र हुन सक्ने जिकिर गरे । उनले अस्थायी प्रहरी चौकी स्थापना भएपनि अब यसलाई स्थायी गर्ने चुनौती थपिएको बताए ।
देवदह नगरपालिकाको नियमित बजेटबाट करिब १८ लाख रुपैयाँमा ५ कोठाको अस्थायी प्रहरी चौकी निर्माण सम्पन्न भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विश्वकर्माले जानकारी दिए । उनले भने, ‘यस चौकी बनाउन सहयोग गर्नुहुने सबसैमा जिप्रका रुपन्देहीको तर्फबाट बधाई दिन चाहन्छु ।’
चौकीमा थुनुवा कक्षदेखि प्रहरी कर्मचारीको लागि ब्यारेक, भान्सा, कार्यालय एवम व्यस्थित शौचालय र स्नानागारको समेत व्यवस्था रहेको उनले जानकारी दिए । त्यस क्षेत्रमा हुन सक्ने चोरी तस्करी नियन्त्रण, बिपद्का घटना न्यूनिकरण, विभिन्न किसिमका सामाजिक अपराधहरु नियन्त्रणमा चौकीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी विश्वकर्माको अध्यक्षतामा सम्पन्न भवन उदघाटन कार्यक्रममा देवदह नगरपालिकाकी उप–प्रमुख बिद्या लक्ष्मी गुरुङ, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कुँवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले बोलेका थिए ।
चौकी स्थापनासँगै रुपन्देहीमा एक वटा जिल्ला प्रहरी कार्यालय, क श्रेणीका इलाका प्रहरी कार्यालय १० वटा, ख श्रेणीमा इलाका प्रहरी कार्यालय ५ वटा, वडा प्रहरी कार्यालय २, जिल्ला ट्राफिक कार्यालय १, प्रहरी चौकी २७, अस्थायी प्रहरी पोष्ट ९, अस्थायी प्रहरी चौकी २ वटा समेत गरि प्रहरीको विभिन्न युनिटको संख्या ८४ पुगेको छ ।
