काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका अधिकृतलाई अध्यागमन कार्यालयबाट हटाएर विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।
विमानस्थलमा कर्मचारी र प्रहरीबिच कुटाकुट भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले प्रतिवेदन बुझाउँदै त्यस्तो सिफारिस गरेको हो । सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।
गत शुक्रबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबिच विवाद हुँदा कुटाकुट भएको थियो । सो घटनालाई लिएर माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति बनेको थियो ।
सो समितिले अध्यागमनका अधिकृत छायालाल मोक्तानलाई विभागीय कारबाही गर्न र प्रहरीका सहायक निरीक्षक (असई) संजय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको हो ।
त्यस्तै दुईजनालाई विभागीय कारबाही गर्नुपर्ने निष्कर्ष समितिले निकालेको छ । गठित समितिले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार कुटपिटमा संलग्न दुई प्रहरी जवानद्वय रवि रञ्जन गुप्ता र राजकुमार महत्वलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको हो ।
त्यसतै समितिले प्रहरी नायब उपरीक्षक (डिएसपी) रेवती रमन पोखरेलले आफ्नो कार्य क्षेत्रमा कमान्ड सम्हाल्न नसकेको भन्दै लिखित रुपमा सचेत गराउन सिफारिस गरेको छ ।
उक्त चेकजाँच गर्ने ठाउँमा खटिएका ती असई तामाङले राम्ररी कमान्ड गर्न नसक्दा कुटपिटसम्मको घटना भएको समितिको ठहर छ । साथै अध्यागन विभागका अधिकृत मोक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको हो ।
उनी प्रहरीले चेकजाँच गर्दा कुटपिटमा उत्रिएका थिए । शुक्रबार प्रहरीसँग विवाद गरेका अध्यागमन अधिकृत मोक्तान यसअघि पनि पटक–पटक विवादमा परेका अधिकृत हुन् ।
सार्वजनिक भिडिओमा समेत अधिकृत मोक्तानले प्रहरीलाई लात्ती हानेको प्रष्ट देख्न सकिन्छ । तर, गठित समितिले राम्रोसँग अनुसन्धान नगरेको यहिँबाट प्रष्ट हुन्छ ।
छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए । उनीहरुले असई तामाङसहित कारबाहीमा परेका प्रहरीलाई नराम्रो देखाएर आफू पन्छिन खोजेका हुन् ।
