काठमाडौ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नेपाल–भारत सीमामा गरिब जनतालाई अनावश्यक दुःख नदिन सशस्त्र प्रहरीलाई सचेत गराएका छन् ।
सोमबार आयोगको कार्यालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग भएको भेटघाटमा अध्यक्ष डा. दत्तले सीमामा देखिएका समस्याहरूलाई लिएर सचेत गराएका हुन् ।
उनले गरिब जनताले भारतबाट दैनिक गुजाराका लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुःख दिएको गुनासो आयोगमा आएको हुँदा जनतालाई यसरी दुःख दिने काम नगर्न महानिरीक्षक अर्याललाई निर्देशन दिए ।
अध्यक्ष डा. दत्तले मानवअधिकारको संरक्षण सबैको साझा दायित्व रहेकोसमेत स्मरण गराए । यसका साथै, सीमा क्षेत्रबाट हुने लागूऔषध ओसारपसार, मानवतस्करी, चेलीबेटी बेचविखन रोकथाम गर्नका लागि अझै संवेदनशील बन्न पनि महानिरीक्षक अर्याललाई निर्देशन दिएका छन् ।
सीमामा देखा परेका समस्याहरूसँग सम्बन्धित विभिन्न उजुरी आयोगमा आएको हुँदा त्यस्ता समस्याहरूको समाधानार्थ सशस्त्र प्रहरीको भूमिका आवश्यक रहेको पनि छलफलका क्रममा डाक्टर दत्तले बताएका छन् ।
सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउनसमेत आयोग र सशस्त्र प्रहरीबीच समन्वयात्मक भूमिका आवश्यक रहेको अध्यक्ष डा. दत्तले बताए ।
भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिट्टै आयोगसँग सहकार्य गरी सीमासँग जोडिएका गाउँहरूमा युवा सशक्तीकरणका लागि सिपमूलक तथा सचेतनामूलक कक्षाहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
