काठमाडौं । गत बुधबार प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका २४ जना प्रहरी कर्मचारीहरुलाई ७ दिनभित्र हाजिर हुन भन्दै उर्दी हुन सूचना जारी गर्यो । यदी उपस्थित नभएमा प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही हुने सूचनामा जनाइएको छ ।
जसमा थिए प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी कार्यालय सहयोगीससम्म । सूचनामा उल्लेख भएअनुसार सम्पर्कविहीन हुनेमा ३ जना असई छन् । यस्तै, २ जना प्रहरी सहायक हवल्दार छन् भने प्रहरी प्राविधिक जवान ३ जना र १५ जना प्रहरी जवान सम्पर्कविहीन छन् । यस्तै, १ जना प्रहरी कार्यालय सहयोगी पनि सम्पर्कविहीन छन् ।
प्रधान कार्यालयले यस्तो सूचना गरेको यो पहिलोपटक भने होइन । यसअघि पनि कार्यालयले पटक पटक बर्खास्तसम्मको कारबाही गर्ने भनेर सूचना जारी गरिरहे पनि ती कर्मचारीहरु काममा भने फर्किएका छैनन् । जसले गर्दा यहिँबाट प्रष्ट हुन्छ कि प्रहरी संगठनप्रतिको वितृष्णा ।
तर, प्रधान कार्यालयले प्रहरीमा जागिर छाड्ने क्रम बढेसँगै केही दिन अघिदेखि मात्रै नयाँ उपाय अपनाएको छ । अब संगठनका जुन कुनै सदस्यले आफ्नो घर परिवारका दुईजना सदस्यको नाम र फोन नम्बर टिपाउनुपर्ने भएको छ । जसले गर्दा सम्पर्कविहिन प्रहरीलाई खोज्न सहज हुने बताइएको छ ।
‘प्रधान कार्यालयबाटै आफ्नो घरका परिवारको दुई जना सदस्यको नाम र नम्बर अनिवार्य टिपाउनुपर्ने भन्दै उर्दी जारी भएको छ,’ एक प्रहरी अधिकृतले भने, ‘यसले गर्दा सम्पर्कविहिन भएका प्रहरीको खोजी गर्न सहज हुने अनुमान गरिएको छ ।’ आफ्नो मातहतका कार्यालय प्रमुखलाई टिपाउनुपर्ने हुन्छ ।
यसरी प्रहरी प्रधान कार्यालयले जागिर छाड्ने क्रम बढेसँगै अनेकन उपायहरु निकालिरहेको छ । तर, यो उपाय कत्तिको प्रभावकारी होला त्यो हेर्न बाँकी छ । बरु यस्तो उपायहरु खोजी गर्नुभन्दा राज्यको ध्यान पुग्न जरुरी छ ।
