काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र अतिरिक्त महानिरीक्षक (एआईजी) को पदावधि घटाउने सहमति भएको छ । महानिरीक्षकको तीन र अतिरिक्त महानिरीक्षकको चार वर्ष राख्ने सहमति भएको छ ।
हाल आईजीपीको चार र एआइजीको पाँच वर्ष रहेको छ । गृह मन्त्रालयले बनाएको नयाँ प्रहरी ऐनको मस्यौदामा पदावधि घटाउने सहमति भएको हो ।
त्यस्तै, नायब महानिरीक्षक (डिआईजी)को पदावधि भने पाँच वर्ष र बरिस्ठ उपरीक्षक (एसएसपी) को ६ वर्ष नै राखिएको छ । नयाँ ऐनमा वृत्ति विकाससम्बन्धी प्रावधानमा व्यापक हेरफेर गर्न लागिएको हो ।
३० वर्षे सेवाहद पनि हटाउने सहमति भएको तर केही प्रहरी अधिकारी त्यसविरुद्ध लागेका छन् । प्रहरी समायोजनका लागि प्रदेश सरकारले दबाब दिएपछि गृह मन्त्रालयले हतारमा नयाँ प्रहरी ऐन ल्याउन लागेको हो ।
