गोरखा । गण्डकी गाउँपालिकाले मंगलवारदेखि एम्बुलेन्सबाट बृहत रुपमा सेवा प्रदान सुरु गरेको छ । वडा नं १ मकैसिंहस्थित मैकसिंह प्राथमिक स्वास्थ्य केन्द्र, भूम्लिचोकस्थित भूम्लिचोक स्वास्थ्य केन्द्र र भर्खरै सम्पन्न दर्बुङ स्वास्थ्य चौकीबाट गरी कुल तिन एम्बुलेन्सबाट सेवा सुरु गरिएको हो ।
एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटी, वडा नं ५ का अध्यक्ष पहलमान बयालकोटी, स्वास्थ्य शाखा प्रमुख कुमार सुनार लगायत अन्य कर्मचारीहरुको उपस्थितीमा एम्बुलेन्स सेवाबारे जानकारी दिइएको थियो ।
गाउँपालिकाका सबै वडाहरुलाई पायक पर्ने गरि तिन एम्बुलेन्सको सञ्चालन पश्चात गाउँपालिका भरिका बिरामीहरुले सुलभ रुपमा एम्बुलेन्स सेवा पाउने प्रमुख प्रशासकिय अधिकृत उपरकोटीले बताए ।
प्रमुख प्रशासकिय अधिकृत उपरकोटीले भने, “गाउँपालिकाले यसै वर्षदेखि सुत्केरी हुन जाँदा तथा सुत्केरी भएपछि आउँदा समेत गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा समेत सुरु गरिसकेको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन नसरी स्वास्थ्यकर्मीबाट रिफर भई देशका प्रमुख स्थानहरुमा जानुपर्ने भएमा समेत गाउँपालिकाले पूर्ण रुपमा शुल्क निशुल्क गर्ने निर्णय गरेको छ ।”
सुलभ मूल्यमा स्वास्थ्य सम्बन्धी समस्या एव आपतकालिन अवस्थामा गाउँपालिका भित्रका तिनवटै एम्बुलेन्सको प्रयोग गर्न गाउँपालिकाले सम्पूर्ण पालिकावासीहरुमा अनुरोध समेत गरेको छ ।
एम्बुलेन्स चालकहरुको सम्पर्क नम्बर यस प्रकार रहेको छ :
मकैसिंह एम्बुलेन्स : खिल बहादुर सुनार । सम्पर्क नं : ९८०७२८७३५२
दर्बुङ एम्बुलेन्स : भिम नारायण श्रेष्ठ । सम्पर्क नं :९८२६७४५०५२
भूम्लिचोक एम्बुलेन्स : मिन बहादुर गुरुङ । सम्पर्क नं : ९८४१४५४६२१
