काठमाडौं । नेपाल प्रहरीले अपहरणमा परेका एक जना बालकलाई सकुशल उद्धार गरेको छ । मोरङको जहदा गाउँपालिका(१ बाट मंगलबार दिउँसो ३ बजेतिर १० वर्षीय धनीधर राजवंशी अपहरणमा परेका थिए ।
विद्यालयबाट आएर घरनजिकको कोचागरा मन्दिरमा साथीहरूसँग खेल्न निस्किएका बेला बालक राजवंशीको अपहरण भएको थियो । तर, नेपाल प्रहरी ती बालकको सकुशल उद्दार गर्न सफल भएको हो ।
बालक अपहरणमा परेको जानकारी पाउनसाथ अपहरणकारीको खोजी र बालकको उद्धारका लागि मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए ।
इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर (प्रहरी निरीक्षक) सन्दीप बेलबासे र इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी नायव निरीक्षक (सई) विजय बस्नेतको नेतृत्वमा खटिएको संयुक्त टोलीले विराटनगर-१८ बाट बालकको उद्धार गरेको हो ।
प्रहरी आएको थाहा पाएपछि अपहरणमा संलग्न भने फरार भएपनि प्रहरीले केही समयपछि अपहरणमा संलग्न तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा जहदा-१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर-१८ का २१ वर्षीय विवेकानन्द यादव छन् । सुरुमा अभिषेक पक्राउ परेका थिए । त्यसपछि अरु दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
स्कुलमा तिम्रो फोटो खिचाउनुपर्ने छ भनेर उनीहरुले सुरुमा बालकलाई ललाईफकाई साइकलमा राखेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपहरणकारीले भाथीगछ- हरिनगराको गुरुङ टोलमा पुर्याएपछि मोटरसाइकलमा राखी बालकलाई विराटनगर महानगरपालिका-१५ स्थित खाकीबाबा मन्दिरनजिकको यादव निवासमा पुर्याएर राख्न खोजेका थिए ।
‘यादव निवास लेखिएको घरमा राख्न खोज्दा अपहरणकारीबीच नै विवाद भएको पाइएको छ । बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुँदै गर्दा थाहा पाएर स्थानीयले होहल्ला गरेछन्,’ एसपी पोखरेलले भने, ‘घटना थाहा पाउनसाथ पुगेको प्रहरीले बालकको सकुशल उद्धार गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ।’
अपहरणमा परेका बालक जहदा(१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् । बालकका बुबा राजवंशीले अभिभावकलाई थाहा नदिइकन खेलिरहेको ठाउँबाट मञ्जुरी बिना नै छोरालाई अपहरण गरिएको भन्दै दोषीमाथि कारबाहीको माग राखेर प्रहरीमा जाहेरी दिएका छन् ।
पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यद्यपि, बालकलाई भारत पुर्याउने योजनासहित अपहरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
