काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई मंगलबार साँझ पक्राउ गरेर बुधबार ब्यूरोको कार्यालयमा सार्वजनिक गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट पक्राउ परेका बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ । तर, धेरैलाई थाहा नहुन पनि सक्छ बम्जनले क कसलाई बेपत्ता पारे ? चासोको विषय पनि हो ।
तिनीहरूमध्ये एक हुन् २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ । नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन् ।
उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन् । उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन ।
यस्तै, सिन्धुपाल्चोक बाडेगाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइबा । हेटौंडा उपमहानगरपालिका-१३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए ।
त्यसैगरी सिन्धुपाल्चोक बाडेगाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा । ३० वर्षीय रुम्बा हेटौंडा उपमहानगरपालिका-१६ की हुन् । उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन् ।
यसैगरी, बमजनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन् । उनी बारा निजगढ नगरपालिका-१२ खुमजोरस्थित बमजनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए ।
उनी जितपुर सिमरा उपमहानगरपालिका-१५ बडहर्वाका हुन् । २०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक आनीले जाहेरी दिएपछि बमजनको खोजीमा प्रहरी लागिरहेको थियो ।
बम्जनले बलात्कार तथा यौन शोषण गर्ने गरेको जाहेरी परेपछि प्रहरीले उनीविरूद्ध २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।
