काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने फैसला सुनाएको छ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन भराउन आदेश समेत गरेको छ ।
पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको अदालतको ठहर छ । किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ ।
गत १३ पुसमा अदालतका न्यायाधीश ढकालले सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएका थिए ।
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि त्यतिबेलै आज अर्थात २५ पुसको लागि पेसी तोकिएको थियो ।
मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ ।
