काठमाडौं । विशेष अदालतले नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) महेश विक्रम शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय सुनाएको छ ।
१६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएकोमा सोही अनुसार जरिवाना र बिगो असुल गर्ने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
गत पुस ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले शाहसहित २ जनालाई दोषी ठहर गरेको थियो । जसअनुसार आज सजाय निर्धारण भएको हो ।
शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको थियो ।
उनी ‘छापामारको छोरो’ कथासंग्रह पुस्तकका लेखक पनि हुन् । उनले यसका लागि वि.सं. २०६३ को मदन पुरस्कार पाएका थिए ।
