काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित पुर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि जुटको बोराभित्र बाँधिएको अवस्थामा फेला परेका दुई वटा शवको पहिचान भएसँगै प्रहरी अनुसन्धानको क्रममा थप कुराहरु खुलेको छ ।
घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवैको पहिचान भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार हत्यामा संलग्न र मृतक दुवै पक्ष भारतीय नागरिक हुन् ।
मृतकहरु भारतको मोतिहारी फलबारीवास्थित सुगौलीका १९ वर्षीय ऋषभ कुमार कुशवाहा र भारतको बिहार सुगाँव डीहस्थित सुगौली पूर्वी चम्पारणकी अस्मिता भन्ने सन्जु देवी रहेको एआईजी बज्राचार्यले बताइन् ।
उनीहरुको हत्यामा संलग्न व्यक्ति मृतक सञ्जुका श्रीमान अखिलेश भगत प्रहरीले बताएको छ । अखिलेसले श्रीमतीसँग मृतक ऋषभ कुमारको सम्बन्धको आशंकामा दुवै जनाको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।
‘मृतक पुरुष र मृतक महिला बीचमा रहेको सम्बन्धका कारण सञ्जुका श्रीमान अखिलेशले शंका गरी सो विषयलाई लिएर मृतकहरुसँग झैझगडा गरेको देखिन्छ,’ मंगलबार ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मृतक महिला र पुरुष भरतपुरमा कोठा लिएर भाडामा बस्दै आएका थिए । मृतक पुरुष नाताले अखिलेशका भतिज पर्ने बताइएको छ । अखिलेशले उनीहरुको मंसिर २ गते हत्या गरेका थिए ।
हत्यापछि दुवै शवलाई दुई वटा जुटको बोरामा प्याक गरी मंसिर ३ गते बिहान पौने एक र सवा एक बजेको समयमा साइकलमा राखेर कल्भर्टमातिर लगेर फालेको प्रहरीले बताएको छ । मृतकहरु नेपालमा तरकारी, फलफुल व्यापारको लागि पटक पटक आउने जाने व्यक्ति हुन् ।
उनीहरु अन्तिम पटक दशैंपश्चात नेपाल आई चितवनको मिलनचोक नजिकै कोठा लिई बस्दै आएका थिए ।
गत मंसिर ६ गते जुटको बोराभित्र डोरीले बाँधेको अवस्थामा पुरुष र महिलाको शव फेला परेको थियो । त्यसपश्चात सीआईबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान थालिएको थियो ।
हुलिया पत्ता लगाउन नसकेपछि प्रहरीले मृतकले लगायका कपडा गरगहनासहित स्केच बनाएर समेत सार्वजनिक गरेको थियो । घटनालगत्तै मंसिर १६ गते अखिलेश कोही कसैलाई जानकारी नगराई भारततर्फ लागेको प्रहरीले अनुसन्धानपछि पत्ता लगाएको छ ।
भारत प्रहरीसँग समन्वय गरी अनुसनधानको क्रममा नेपालबाट गएको एक महिनापछि अखिलेसलाई भारतको प्रहरीले पक्राउ गरेको छ । तर, उनीविरुद्ध यसअघि भारतमै अपहरण तथा व्यक्ति बेपत्ता पारेको आरोपमा उजुरी परेको समेत खुलेको छ ।
त्यतिमात्र नभएर उनले भारतमा आफ्नी श्रीमती सन्जुको ब्वाइफ्रेन्ड भनिएका रितेश कुमारको समेत हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतमा उनीविरुद्ध दुईवटा मुद्दामा उजुरी परेकाले अहिले उनी भारतको केन्द्रीय कारागार गृह मोतिहारीमा रहेका छन् ।
