चितवन । उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा सुमन श्रेष्ठ अध्यक्षमा विजयी भएका छन् । शनिबार उद्घाटन भएको संघको ५७ औं वार्षिक साधरणसभा तथा अधिवेशनमा नयाँ कार्य समिति चयनका लागि सोमबार मतदान भएको थियो ।
मंगलबार बिहान घोषणा भएको मत परिणाम अनुसार श्रेष्ठले अर्का उम्मेदवार शिरिष पन्तलाई पराजित गरेका हुन् । निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे । श्रेष्ठका प्रतिस्पर्धी पन्तले ८४३ मत मात्रै प्राप्त गरे ।
श्रेष्ठसहित नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी र तीनजना उपाध्यक्षहरूमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी निर्वाचित भएका छन् ।
कुल दुई हजार ९७४ मत रहेको चितवन उद्योग वाणिज्य संघमा सोमबार भएको मतदानमा दुई हजार ४१४ मत खसेको थियो । अधिवेशनले कुल २५ सदस्यीय कार्य समिति गठन गर्दछ ।
तीमध्ये सातजना निर्विरोध भएका थिए भने १८ जनाका लागि मतदान भएको हो ।
मतदानबाट कार्य समितिमा निर्वाचित सदस्यहरूमा उद्योग तर्फबाट अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी र शंकर अधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरी वाणिज्य तर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुसाल र सुनिता लिगल कर्मचार्य चयन भएका छन् । महिला सदस्यतर्फ अस्मिता तिमिल्सिना विजयी भएकी छन् ।
