काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कासहित तीनजना प्रहरी अधिकारीमाथि विभागीय कारवाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
विभागीय कारवाहीका लागि सिफारिस गरिएका प्रहरी अधिकारीहरुमा एसपी खड्कासहित नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतम र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिनेश अधिकारी छन् ।
तीनैजना प्रहरी अधिकारीले धनुषा जिल्ला प्रहरी कार्यालयमा आरती साहको हत्या सम्बन्धी घटनाको जाहेरी लिन नमानेको र अनुसन्धानमा लापरवाही गरेको मानवअधिकार आयोगको ठहर छ ।
आयोगले आइतबार सरकारलाई बुझाएको ६ पृष्ठ लामो प्रतिवेदनमा उनीहरुमाथि विभागीय कारवाही गर्न सिफारिस गरिएको हो ।
त्यसैगरी मृतक आरती साहको पोष्टमार्टम कार्यमा संलग्न चिकित्सकहरुले पनि लापरवाही गरेको आयोगको ठहर छ ।
साहको पोष्टमार्टम कार्यमा संलग्न चिकित्सकहरु डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दीपेन्द्रकुमार सिंहले समेत लापरवाहीजन्य कार्य गरेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।
