काठमाडौं । प्रहरी जवान आधारभूत तालिमका ५२ जना प्रहरी जवान सोमबार दीक्षित भएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरको तत्वावधानमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा संचालित २-६ समूहको तालिममा सहभागी उनीहरू दीक्षित भएका हुन् ।
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा आयोजित दीक्षान्त समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक (डिआईजी) विकास राज खनालले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खनालले तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रयोग गरी आम नागरिकले उत्कृष्ट प्रहरी सेवाको अनुभूति गर्न सक्ने गरी कार्य गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिए ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका मुख्य जिम्मेवारीका साथै राज्यले सुम्पिने विशेष जिम्मेवारीहरू पूरा गर्ने कार्यमा प्रहरी जवान नेपाल प्रहरी संगठनको मेरूदण्डको रूपमा रहेको चर्चा गर्दै खनालले कार्यक्षेत्रमा प्रहरी जवानले बोल्ने बोली र व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने हुनाले उनीहरूको बोली र व्यवहार अत्यन्त विनम्र एवम् व्यवसायिक हुनुपर्नेमा जोड दिए ।
समारोहमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत गरेका थिए ।
तालिम संयोजक प्रहरी नायव उपरीक्षक रेमश बहादुर पालले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत २०७९ फागुन १५ गतेदेखि संचालित २३४ कार्यदिन अवधिको उक्त तालिममा ५२ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिए ।
