काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा कामदारको माग गर्दै विज्ञापन पोष्ट गरी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भएका हिमाल राई रहेका छन् ।
हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्दै आएका ३४ वर्षीय राईले सामाजिक सञ्जाल फेसबुकलगायतमा कामदारको माग गर्दै विज्ञापन पोष्ट गरी ठगी गरेको प्रहरीले जनाएको छ ।
राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–५ चपली हाईटको घुम्तीबाट पक्राउ गरेको हो ।
राईले काठमाडौंको चाबहिल, गंगाहिटी, महाराजगन्ज लगायतका विभिन्न स्थानहरूमा भिजन डिपार्टमेन्ट प्रा.लि. समेत सञ्चालन गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विभिन्न कम्पनीहरूमा मासिक ५० हजार भन्दा बढी तलब हुन्छ भनि विभिन्न किसिमका सिपमुलक तालिम प्रदान गरी नोकरी लगाई दिने प्रलोभनमा पार्ने काम गरेको बताइन्छ ।
प्रतिव्यक्ति १ लाख १३ हजारका दरले १५ जनाबाट १६ लाख ९५ हजार रकम लिई तालिम समेत नदिई उनी कार्यालय नै बन्द गरी सम्पर्कविहीन भएका थिए ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत गौशाला पठाइएको छ ।
