पोखरा । कास्की प्रहरीले होटलमा काम लगाइदिने प्रलोभनमा महिला र बालिकालाई यौन गतिविधिमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालक पक्राउ परेका हुन् ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा–१७ विरौटा बसने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
सुरुमा होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि प्रलोभनमा पारेर यौनजन्य गतिविधिमा लगाउने सूचनाको आधारमा प्रहरीले होटलमा छापा मारेको कास्की प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिए ।
प्रहरीले छापा मार्दा एक जना बालिका र दुई जना महिलालाई खाजा घरबाट बाहिर लाने तयारीमा रहेको पाइएको बताइएको छ । तत्कालै तीनै जनाको प्रहरीले उद्धार समेत गरेको थियो ।
उनीहरुले २५ सय देखि ५ हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एसपी थापाले भने, ‘महिला र बालिका हेरेर पैसाको रेटदर कायम गर्ने गरेको पाइएको छ । पुरै रात बसे ५ हजार र एक घण्टा बसे २५ सयसम्म लिने गरेको खुलेको छ ।’
यसरी दरदरेट नै कायम गरेर महिला तथा बालिकाहरुलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । उक्त होटलमा स्याङ्जा, बागलुङ, पाल्पालगायत जिल्लाका महिला तथा बालिकाहरु काम गर्ने बहानामा पुग्ने गरेको खुलेको छ ।
गत बिहीबार पक्राउ परेका उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर मानव वेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
