काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको समन्वय र काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको सहयोगमा तीन महिने आधारभूत ‘सिलाई कटाई उन्नत (एड्भान्स) तालिम’ सुरु भएको छ ।
बुधबार श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको अध्यक्षता तथा उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको प्रमुख आतिथ्यतामा तालिमको समुद्धघाटन भएको हो ।
तालिमको समुद्धघाटन गर्दै संघकी अध्यक्ष कुँवरले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, उक्त सिपले जीवनमा परिर्वतन ल्याउने बताइन् । उनले भनिन्, ‘मानिसलाई सिपले स्वरोजगार बनाउनुका साथै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउनेछ ।’
सिलाई कटाई तालिमपछि ग्राहकको रुची अनुरुप ड्रेस मेकिङ गर्नसक्ने एक दक्ष प्राविधिक बन्ने भएकाले तालिममा सहभागीहरुलाई मेहनतका साथ तालिम लिन अनुरोध समेत गरिन् । सिप र दक्षताले मानिसको भबिष्य निधारण गर्ने भएकाले त्यसलाई ख्याल गरि काम गर्न उनले आग्रह गरिन् ।
त्यस्तै तालिम समुद्धघाटन कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले जसले मेहनतका साथ सिप सिक्छन्, सफलता हासिल गर्न कुनै समस्या नपर्ने बताए । उनले भने, ‘श्रमले मानिसलाई सम्मानित बनाउँछ । सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुनेछ ।’
सरकारी स्तरबाट दिएका तालिमहरुको महत्व हुने भएकाले तालिमपछि सहभागीहरुले हासिल गर्ने सिपलाई परीक्षण गरि प्रमाण पत्र प्रदान गरिने भएकाले तालिममा ध्यान दिन एआईजी थापाले आग्रह गरे । सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिएको हो ।
तालिमको समुद्धघाटन कार्यक्रममा संघकी उपाध्यक्ष रुपा थापा, कोषाध्यक्ष कल्पना गिरी, सल्लाहकार रश्मी पोखरेल, दिपा भट्ट जोशी, गरिमा पोखरेल र अन्य पदाधिकारीज्यूहरु र नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी उपरीक्षक राजीव बस्नेतलगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
