काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै झण्डै तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा –९ गोठाटार बस्ने वर्ष २२ को कैलाश गिरी रहेका छन् ।
गिरीले भाष्करदत्त भट्टलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिने र त्यसको लागि तीन लाख रुपैयाँ लाग्छ, कतार पुगेपछि ड्राइभरको काम लगाइदिन्छु, मासिक ८० हजार रुपैयाँ भन्दाधेरै तलव हुन्छ भनी प्रलोभनमा पारी भट्टबाट २ लाख ९४ हजार रुपैयाँ रकम लिएका थिए ।
रकम लिई सम्पर्कविहीन भएका गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस १७ गते गोठाटारबाट पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
