काठमाडौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिँदा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको मृत्यु भएपछि गुटेरेसले समवेदना पत्र पठाएका छन् ।
गत कात्तिकमा नेपाल भ्रमणमा आउँदा महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेका थिए । उनको सुरक्षाका लागि प्रहरी चौकी घान्द्रुकका इन्चार्ज समेत रहेका असई ढुंगाना पनि शिविरमा पुगेका थिए ।
तर त्यहाँबाट फर्किने क्रममा उनको कात्तिक १५ गते लेक लागेर मृत्यु भएको थियो । उनको मृत्युको खबर पाएपछि महासचिव गुटेरेसले असई ढुंगानाकी श्रीमती राधा पौडेल ढुंगानालाई नोभेम्बर २१ मा समवेदना पत्र पठाएका हुन् ।
उक्त समवेदना पत्र सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले एक कार्यक्रम आयोजना गरी असई ढुंगानाकी श्रीमती राधालाई हस्तान्तरण गरिएको थियो ।
‘अक्टोबर २९, २०२३ मा अन्नपूर्ण आधार शिविरमा भ्रमणको क्रममा म र मेरो प्रतिनिधि मण्डललाई सहयोग गर्न सुरक्षा टोलीमा खटिएका तपाईंका श्रीमान असई टीकाराम ढुंगानाको मृत्यु भएको खबरले म दु:खी छु,’ उनले भनेका छन्, ‘यो दु:खद् घडीमा तपाईं र परिवारप्रति म हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।’
