काठमाडौं । बारा प्रहरीले विदेशबाट आएको लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । उक्त गाँजा अमेरिकाबाट आएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका-१ टोल सिसवा वारी बस्ने वर्ष २२ को नैमोदिन मियाँ, सोही ठाउँका २७ वर्षीय जितेन्द्र साह सोनार र २२ वर्षीय कृष्णा सराफ रहेका छन् ।
अमेरिकाबाट लागूऔषध डेलेभरी हुँदैछ भन्ने गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्यूरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
सोमबार बारा कलैया उप(महानगरपालिका-१ मोतिबाग स्थित रहेको जिल्ला हुलाक कार्यालय कलैया नजिक अमेरिकाबाट आएको कार्टुनहरु बरामद भएको थियो । कार्टुनमा गाँजा रहेको प्रहरीले जनाएको छ ।
कार्टुनबाट Popcorn Mix Trio लेखिएको रातो रंगको टिनको डब्बाभित्र गाँजा ३ तिन प्याकेट, Old Fashioned Oats लेखिएको डब्बाभित्र १ प्याकेट र Quick Oats लेखिएको डब्बाभित्र १ प्याकेट गाँजा गरी १ किलो १४६ ग्राम गाँजा बरामद भएको हो ।
पक्राउ परेका व्यक्तिहरूलाई लागूऔषध गाँजा सहित नियन्त्रणमा लिई लागूऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
