काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बेरोजगार युवाहरुबाट १० करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामा छन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनले बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीमा लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकमा पठाउने भन्दै १० करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
लामाले काठमाडौंको महाराजगञ्जस्थित एसईई स्टार ट्रेनिङ सेन्टर खोलेर बेरोजगार युवालाई वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने नाममा ठगी गरेको खुल्न आएको छ ।
उनले बेरोजगार युवाबाट प्रतिव्यक्ति पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म लिएको पाइएको छ । त्यस्तै उनको ट्रेनिङ सेन्टरबाट प्रहरीले नौ सय ९७ थान राहदानी समेत बरामद गरेको छ ।
सोमबार काठमाडौंको शंखमूलबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग पठाइएको छ ।
