काठमाडौं । रुसी सेनामा भर्ती हुन गएका थप तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ का हरिप्रसाद अर्याल गएको कात्तिक ३ गते मात्रै रुस गएका थिए । अर्यालको मृत्यु भएको विषय वडा कार्यालय र परिवारलाई सरकारी संयन्त्रले जानकारी गराएको छ ।
योसँगै रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ ।
परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ गतेसम्ममा ज्यान गुमाउने नेपालीको सङ्ख्या सात जना पुगेको जनाएको थियो ।
यसअघि ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।
