गोली चल्यो प्रहरी निलम्बनमा पर्यो
किनकी प्रहरीलाई नागरिक बन्न दिइँदैन ।
शासकको सत्ता टिकाउने साधन बनाइएको छ ।
विवेक प्रयोग गर्यो भने त्यो प्रहरी हुँदैन,
आदेश पालन गरे मात्र उ बफादार हुन्छ ।
गोली नचलाए नी कोही न कोही
प्रहरीलाई निलम्बन गरिन्थ्यो,
कोही प्रहरीलाई हेर्डक्वाटर तानियो भन्ने समाचार आउँथ्यो । किनकी त्यहाँ मन्त्रीज्यूको गाडी जलेको थियो ।
गाडीको सुरक्षा गर्न नसकेको भनिन्थ्यो ।
मन्त्रीज्यूको गाडी पनि हामी नागरिकको सम्पत्ति हो नि
तर हामीले किन बुझ्न सकेनौ ।

आपतमा नागरिकलाई प्रहरी नै चाहिन्छ ।
विपतमा नागरिकलाई प्रहरी नै चाहिन्छ ।
नागरिकका सबै दुःखमा प्रहरी नै चाहिन्छ ।
प्रहरी आफू रातभर नसुती नागरिकलाई सुत्न दिन्छ ।
आफ्नो ज्यान जोखिममा राखेर नागरिक बचाउँछ ।
कोभिडमा आफू मारेर जनता बचाउने प्रहरी नै हो ।
भूकम्पमा आफू पुरिएर नागरिक जोगाउने पनि प्रहरी नै हो ।
शासकको रिस पनि प्रहरीलाई नै हुन्छ,
मेरो गाडीको समेत सुरक्षा गर्न नसक्ने भनेर निलम्बन गर्छ ।
नागरिकको रिस पनि प्रहरीलाई हुन्छ हामीलाई गोली हान्ने ?
भन्नुस् न त विचरा प्रहरी पनि नागरिक हो ।
गोली चलाएर कोही निलम्बन भयो ।
गोली नचलाएको भए पनि कोही निलम्बन नै हुन्थे ।
गोलीले गर्दा एउटा गरिब नागरिकको ज्यान गयो,
गोलीले गर्दा अर्को गरिब प्रहरीको जागिर गयो ।
अदृश्य र मैखिक आदेशकर्ता महोदयहरूले कहिले बुझ्ने ?
प्रहरीलाई नागरिकप्रति बढी उत्तरदायी बनाउ ।
शासकको प्रहरी होइन र हुन पनि सक्दैन ।
सत्तामा रहँदा पनि सत्ता बाहिर हुँदा पनि
सत्ता सञ्चालकहरूले प्रहरीलाई नागरिक बनाउ ।
प्रहरी नागरिकको हो,
प्रहरी वर्दीका नागरिक हुन् भने नागरिक विना वर्दीका प्रहरी हुन् ।
सबै घटनामा प्रहरीको मात्र दोष हुने भए
अरू सबै जिम्मेवार निकाय केही होइनन त ?
राम्रो काम मेरो सरकारले गर्यो भन्ने नराम्रो जति प्रहरीले ?
हाम्रो नराम्रो बानी, व्यवहार र सोचमा निलम्बन गरौं ।
हरेक घटनामा प्रहरीलाई निलम्बन गरेर बहादुर नबनौं ।
अधिवक्ता राधिका खतिवडा
बुढानिलकण्ठ न.पा.८ काठमाडौं
