काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गृहमन्त्रीस्तरीय निर्णयबाट हुने प्रावधान छ । गृहमन्त्री छन् माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ । तर, श्रेष्ठले ठाउँ खाली हुँदा समेत सरुवा गर्न सकिरहेका छैनन् ।
जसको पछिल्लो उदाहरण हो, ललितपुर प्रहरी प्रमुख । ललितपुर प्रहरी परिसर प्रमुखविहीन भएको ४ दिन बितिसक्दा पनि सरुवा गर्न नसकेपछि गृहमन्त्री श्रेष्ठको चर्को आलोचना भएको छ ।
क्षमताका आधारमा भन्दा शक्तिका आधारमा ललितपुर जिल्लाको इन्चार्ज हुन धेरै एसएसपीहरु लागिपरेका छन् । केही एसएसपीहरुले गृहमन्त्री श्रेष्ठको टिमलाई भेटेरै आफूलाई पठाउन भनिरहेका छन् । जसकारण कसलाई पठाउने भन्ने विवादले सरुवा हुन नसकेको स्रोत बताउँछ ।
जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी रिक्त भएको चार दिन हुँदा पनि गृह मन्त्रालयले नयाँ एसएसपी पठाउन नसकेको हो । ललितपुर प्रहरी प्रमुख भएर जानका लागि एक दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन् । ललितपुर जानका लागि तीव्र चलखेलकै कारण गृहले निर्णय गर्न नसकेको हो ।
कोही माओवादी त कोही कांग्रेस नेताहरूमार्फत ललितपुर प्रहरी प्रमुख भएर जाने प्रयासमा छन् । आईजीपी बसन्त बहादुर कुँवर कार्यक्षमतामा अब्बल, इमान्दार र व्यवसायीक प्रहरी अधिकृतलाई पठाउन खोजिरहेका छन् । तर, राजनीतिक दलका नेताहरुले विवादित अधिकृतको नाम सिफारिस गरिरहेको बताइन्छ ।
एसएसपीहरू ओम राना, दिनेश आचार्य, दिनेशराज मैनाली, हिमालय कुमार श्रेष्ठ, शेखर खनाल, विश्व अधिकारी, राजेन्द्र भट्ट, ओम प्रसाद अधिकारी, दिपक रेग्मी, सानुराम भट्टराई, प्रविण पोखरेल, मुकुन्द मरासिनी, रेवती ढकाल, ललितपुर परिसर जान लागिपरेका छन् ।
उनीहरुमध्ये केहीले गृहमन्त्री श्रेष्ठ, केहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत दबाब दिइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । एसएसपी इन्चार्ज बस्ने कार्यालय थोरै भएकाले पनि सरुवामा तीव्र चलखेल हुने गर्दछ ।
सरुवामा आईजीपीलाई अधिकारविहीन बनाउँदा प्रहरी कमजोर बन्दै गएको छ ।
गत शुक्रबार ललितपुरको बालकुमारी घटनापछि ललितपुर प्रहरी प्रमुख रहेका एसएसपी शिद्धिबिक्रम शाहलाई जिम्मेवारीबाट हटाएपछि उक्त ठाउँ खाली भएको छ । तर, अहिलेसम्म गृहमन्त्री श्रेष्ठले एसएसपी शाहको ठाउँमा अर्को व्यक्तिलाई पठाउन सकिरहेका छैनन् ।
यहिँबाट के कुरा प्रष्ट हुन्छ भने ललितपुर परिसर फेरी चलखेलकै आधारमा पठाउन लागिएको छ ।
