बारा । प्रहरीले करिब एक करोड मूल्य बराबरको सामानमा बिलबिजक कम बनाएर राजस्व छली गरेर ल्याइएको सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगन्ज भन्सारबाट छुटेर काठामाडौंतर्फ जाँदै गरेको ना ४ ख ८३५८ नं ट्रक पथलैया चोकमा चेकजाँच गर्ने क्रममा प्रहरीले सो गाडी नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले आइतबार राती १० बजे नियन्त्रणमा लिएको सामानको सूचना भने सोमवार साँझ मात्रै सार्वजनिक गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा ९३ लाख ३६ हजार ६३ रुपैयाँ मूल्य बराबरको खुद्रा सामान रहेको जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
‘भन्सारसँगको मिलेमतोमा ७ सय रुपैयाँ पर्ने सामानलाई न्यूनतम् मूल्य ३ सय रुपैयाँ भन्दा कम देखाएर बिल बिजक भएको छ’ इप्रका सिमरा स्रोतले भन्यो, ‘यो सबै सेटिङमा हुन्छ ।’
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले सो गाडीमा लत्ताकपडा, कस्मेटिक र मोर्टस् पार्टस भएको बताए ।
‘अन्डर बिलिङको सामान भएकोले हामीले गाडी नियन्त्रणमा लिएका हौँ, अब त्यसमा कतिको सामान छ भन्ने कुरा राजस्व अनुसन्धानले छानबिन गर्ला,’ डिएसपी न्यौपानेले भने ।
मोर्टस् पार्टस्, कस्मेटिक सामान र लत्ताकपडा सहितको गाडी वीरगन्ज भन्सार कार्यालयबाट कसरी पास भयो भन्ने विषयमा अनुसन्धानको दायरा ल्याउनुपर्ने बारा प्रहरीको भनाइ छ ।
यसैगरी अम्लेखगञ्ज प्रहरीले बिलबजक भन्दा बढिको सामान रहेको आशङ्कामा चार वटा भारतीय नम्बर प्लेटको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
अम्लेखगञ्ज प्रहरीले जितपुरसिमरा वडा नं २१ बाट पीबी १३ बीडी ९१८८, एचआर ४५ सी ९६८०, डब्लुबी २३ सी २८७३ र डब्लुबी ०३ डी २५१६ नम्बरको भारतीय ट्रकबाट बिल विजकभन्दा बढी हार्डवेयर सामग्रीहरू बरामद गरेको हो ।
