काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले नाबालिग बलात्कारका एक अभियुक्तलाई कानूनविपरीत थुनामुक्त गरेको भन्दै सरकारी वकिल कार्यालयले उच्च अदालतमा निवेदन दिने भएको छ ।
१४ वर्षीया नाबालिग महाराजगञ्ज ३४ (क) माथि बलात्कारको अभियोग लागेका हिमाल शाहीलाई ९ दिनअघि काठमाडौंका जिल्ला न्यायाधीश ढकालले ३ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएका थिए ।
उच्च सरकारी वकिल कार्यालयका निमित्त प्रमुख रूद्रप्रसाद पन्थीले यो आदेश बदर गर्न निवेदन दिन भन्दै जिल्लाबाट निर्णय भएर आएको बताए । जिल्लाले शुक्रबारै निवेदन पठाए पनि हामीले बीचमा बिदा भएकाले अहिले बल्ल निवेदन र मिसिल अध्ययन गरिरहेका छौं, उनले भने ।
जिल्ला न्यायाधीश ढकालले शाहीलाई धरौटीमा थुनामुक्त गर्दा कानून र प्रमाणहरूको नजरअन्दाज गरेको सरकारी वकिलको दाबी छ ।
४५ वर्षीया शाहीले आफ्नी छोरीलाई पटकपटक यौन दुर्व्यवहार गर्दै आएकामा पछिल्लोपटक असोज २८ गते स्कुलबाट फर्किंदा साँघुरो गल्लीमा लगेर बलात्कार गरेको भन्दै पीडितका बुवाले मंसिरमा जाहेरी दिएका थिए ।
लामो समय छोरी नबोल्ने, डराउने, काँप्ने गर्न थालेपछि कुराकानी गर्दा शाहीले बलात्कार गरेको थाहा भएको उनको जाहेरीमा उल्लेख छ । आफूले बलात्कार गरेको कसैलाई भने मार्दिन्छु भन्दै शाहीले बालिकालाई धम्क्याउने गरेको पनि उनको जाहेरीमा भनिएको छ ।
जाहेरी परेपछि मंसिर १० गते शाहीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्यो । सोही मुद्दामा पहिलो सुनुवाइ गर्दै गएको हप्ता न्यायाधीश ढकालले शाहीलाई ३ लाख धरौटीमा छोडेका हुन् ।
