काठमाडौं । चितवनबाट दुई नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना पक्राउ परेका छन् । चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महत ५ पुसमा अपरहणमा परेका थिए ।
उनीहरुलाई अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् ।
सो दिन थापा र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए । तर पुस ७ गते बेलुका एकाएक थापाले आफ्नो फेसबुक मेसेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ माग भएको भन्दै जानकारी गराएका थिए ।
सो सूचना प्रहरी कार्यालय भरतपुरका साथै जिल्ला प्रहरी कार्यालय बारामा पुगेको थियो ।त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सुरु गरेको हो ।
अप्रेसनको क्रममा पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले अपहरणमा परेका थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरेको थियो ।
भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।
