डोटी । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
साथै उनले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरे । कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गरे ।
उक्त अवसरमा आईजीपी कुँवरले समाजमा देखा पर्ने नविनतम चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असरका साथै विपदका घटनाबाट उत्पन्न हुन सक्ने प्रतिकुल परिस्थिति र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी अवस्थामा रहनु पर्ने बताए ।
समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकायहरूसँगको सहकार्यमा जनअपेक्षा अनुरूपको प्रहरी सेवा प्रदान गरी समाजमा अशान्ति र अराजगता फैलाउने तथा अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति वा समूह विरुद्ध सशक्त रूपमा प्रस्तुत भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भरत बहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बिष्णुहरी कोईरालाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुमन दाहालले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड ८ लाख ६३ हजार ४ सय ६४ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा डोटी जिल्लाका जिल्ला न्यायाधीश, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, अमर प्रहरी परिवारका सदस्यहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
यसैगरी प्रहरी महानिरीक्षक कुँवरले जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन समेत दिए ।
