काठमाडौ । सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलराज गिरी जिल्लाकै उत्कृष्ट प्रहरी बनेका छन् ।
हरिवनकै एक अपराधको अनुसन्धानमा उनी नेतृत्वको टिमले पाएको सफलताको आधारमा उनी मंसिर महिनाको (पुलिस अफ दि मन्थ) बनेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवामा आयोजिक कार्यक्रममा सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले इन्सपेक्टर गिरीलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेका छन् ।
हरिवन नगरपालिका- ११ बालगंगाकी १७ वर्षीया तबसुन खातुनको शंकास्पद मृत्युमा गिरिले सफल अनुसन्धान गरेर अभियुक्तलाई कानुनको कठघरामा ल्याएका थिए ।
उक्त अपराधको सफल अनुसन्धान गरेको कारण उनलाई पुरस्कृत गरिएको एसपी धितालले जानकारी दिए ।
बालगंगा निवासी शेष ईर्सादकी छोरी १७ वर्षीया खातुनको केही समयअघि हत्यापछि गुपचुप रुपमा परिवारका सदस्यले शव घर नजिकैको चिहानमा लगेर गाडेका थिए ।
प्रहरी अनुसन्धानको क्रममा खातुनको हत्यामा उनकी आमा सकिना खातुन र शेष चाँद भनिने शेख मिर हमजाको संलग्नता खुलेको छ ।
उनीहरू दुवै यतिबेला पुर्पक्षको लागि कारागारमा छन् ।
