काठमाडौं । नेपाल प्रहरीमा तीनवटा प्रहरी नायब महानिरीक्षक (डिआईजी)को पद थप्न प्रस्ताव गरिएको छ । प्राविधिकतर्फ तीन वटा डिआईजीको पद थप्न प्रस्ताव गरिएको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ डिआईजी, नेपाल प्रहरी केनाइन महाशाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डिआईजी राख्नेगरी प्रस्ताव गरेको हो ।
तर, अर्थ मन्त्रालयले साइबर र केनाईन महाशाखामा मात्र डिआईजी पद थप्न गृह मन्त्रालयलाई सहमति दिएको स्रोत बताउँछ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्ताव गृह मन्त्रालयले अर्थमा पठाएको थियो ।
अर्थ मन्त्रालयले प्राविधिकतर्फ दुई वटा डिआईजीको पद थप्न सहमति दिएको बताइन्छ । ‘अर्थबाट सहमति प्राप्त भएको छ तर, केही विषयमा छलफल गर्नुपर्ने भएको कार्यान्वयनमा गएको अवस्था छैन,’ गृहका एक उच्च अधिकारीले भने ।
साइबर अन्तर्गत डिआईजी बढुवा गर्दा ब्यूरोका प्रमुख रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले अवसर पाउँछन् । साइबर ब्युरोमा कार्यरत अर्यालका प्रतिस्पर्धी नै नभएको हुनाले उनी नै डिआईजीमा बढुवा हुने कन्र्फम जस्तै छ ।
अर्याललाई बढुवा गरेर सिआईबीमा राख्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । त्यसो गर्दा साइबर ब्यूरो डिआईजीको मातहतमा रहनेछ ।
यस्तै नेपाल प्रहरी केनाईन महाशाखामा डिआईजी पद थपिएको अवस्थामा एसएसपी डा. देउती गुरुङ बढुवा हुनेछिन् । महाशाखा प्रमुख एसएसपी देउतीसँग प्रतिस्पर्धा गर्न सो महाशाखमा अन्य प्रतिस्पर्धी छैनन् ।
केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डिआईजी थप गर्ने प्रस्ताव भने छलफलकै क्रममा रहेको बताइएको छ । सम्भवतः त्यहाँ पनि डिआईजीको दरबन्द िरहनसक्ने स्रोत बताउँछ ।
