काठमाडौं । प्युठानमा दुई दिनअघि आमा र छोरा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको घटनाले सनसनी छाएको छ ।
आइतबार राति झिमरुक गाउँपालिका-३, बाँदीकोट सिमसरास्थित घर नजिकै काफलको रुखमा दुई अलग(अलग डोरीमा सौतेनी आमा र छोरा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार त्यस गाउँकी ३५ वर्षीय विष्णा खड्का र २३ वर्षीय विशाल खड्का झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्यूठानका नायब उपरीक्षक (डिएसपी) ईश्वर थापाका अनुसार विशाल विष्णाका सौतेला छोरा हुन् ।
प्रहरीका अनुसार बाबु भारतमा नोकरी गर्न गएका छन् । विशालकी आमा अन्यत्र विवाह गरेर गएपछि बाबुले कान्छी श्रीमतीका रुपमा विष्णालाई विवाह गरी ल्याएका थिए । विष्णा तर्फका १३ वर्ष उमेरका छोरा रहेको बताइएको छ ।
डिएसपी थापाले भने, ‘सोमबार नै दुवै मृतकको शव पोष्टमाटम गरी आफन्तजनलाई बुझाइएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन ।’
उनीहरुको शव पोष्टमार्टमपछि दाहसंस्कार गरिएको छ ।
