काठमाडौं । रुपन्देही प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा सखुवा पर्सौनी गाउँपालिका २ का ३९ वर्षीय श्रीलाल प्रसाद यादव र सोही ठाउँकी ४५ वर्षीय उमादेवी चौधरी रहेका छन् ।
उनीहरुको साथबाट २० ग्राम ७०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । खैरो हेरोइनको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ बैंक कलौनीस्थित रहेको ग्यालेक्सी होटलमा केही व्यक्तिहरुले लागूऔषध खैरो हेरोइनको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिप्रका रुपन्देही र लागूऔषध नियन्त्रण ब्यूरोको भैरहवा शाखाको संयुक्त टोलीले चेकजाँच गरेको हो ।
चेकजाँचको क्रममा शंकास्पद रुपमा होटलमा बसेका उनीहरुमाथि खोजतलास गदार्द लागूऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
