काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् ।
आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् ।
तर त्यति गर्दा कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् । केन्द्रीय कारागार कार्यालय स्रोतका अनुसार उनी सम्भवतः बुधबार रिहा हुनेछन् ।
भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ ।
सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्न लागेका कारागार स्रोतले जनायो । रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्य विरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
