बारा । पर्सा राष्ट्रिय निकुञ्जले बिना अनुमति हातहतियार, भरुवा बन्दुक सहित निकुञ्जभित्र प्रवेश गर्ने र सतिसालको रुख काट्ने ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको इजलासले निकुञ्जको कोर क्षेत्रभित्र अनुमति बिना हातहतियार, भरुवा बन्दुक र अन्य बन्दोबस्तीको सामानसहित प्रवेश गरेको कसुरमा २ जना र सतिसालको रुख कटान गरेको अभियोगमा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
निकुञ्जले हेटौँडा उपमहानगर वडा नं १३ का तिलकबहादुर थिङ्ग (२७), र वडा नं १४ कालोपानी बस्ने राजीव घलान (२२) लाई भरुवा बन्दुक र हतियारसहित निकुञ्ज प्रवेश गरेको अभियोगमा नियन्त्रणमा लिएर पुर्पक्षका लागि थुनामा पठाएको हो ।
उनीसँग भरुवा बन्दुक २ थान, फलामे छर्रा (गोली), बारुद र अन्य बन्दोबस्तीका सामानसहित निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका थिङ्ग र घलानलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, दफा २६ उपदफा (६) अनुसार धरौटी बुझाउन नसकेपछि शुक्रवार पुर्पक्षका लागि थुनामा पठाइएको निकुञ्जका रेन्जर जयराम न्यौपानेले बताएका छन् ।
साथै निकुञ्जको सिकारी पोस्टबाट खटिएको कर्मचारी र नेपाली सेनाको अर्को टोलीले अवैध रूपमा सतिश सालको रुख कटान गरिरहेको अवस्थामा ८ वटा गोलिया, ३ थान बन्चरो, १ थान आरा, टर्चलाइट र गोलाइ नाप्ने फित्तासहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
साल प्रजातिको रुखमध्ये सतिसाल सबैभन्दा मूल्यवान् मानिन्छ । यो दुर्लभ वनस्पति अन्तर्गत पर्दछ ।
सतिसालको गोलाइसहित जिराभवानी गाउँपालिका वडा नं १ का सहदेव सकुल (४०), सोही ठाउँका हिरालाल मुखिया बिन (५०), आसदेव मुखिया (४०) जितेन्द्र मुखिया (२३) लाई नियन्त्रणमा लिएर प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको इजलासले शुक्रवार नै पुर्पक्षका लागि थुनामा पठाउन फैसला गरेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ४ जनालाई वीरगन्ज कारागार पठाइएको निकुञ्जले जनाएको छ ।
