काठमाडौं । रविन्द्र केसीद्धारा लिखित कथासंग्रह पुस्तक ‘सम्बन्धको दोबाटो’ विमोचन हुने भएको छ । पुस १४ गते (शनिबार) प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा पुस्तक विमोचन हुने भएको हो ।
कार्यक्रम लेखनाथ हल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा दिउँसो १ः३० बजे हुनेछ । पुस्तकका लेखक केसी नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) हुन् । हाल डिआईजी केसी प्रहरी एकेडेमीमा कार्यरत छन् ।
पुस्तकमा २१ वटा कथा समेटिएको केसीले बताए । ६५ हजार शब्दको पुस्तक शिखा बुक्स प्रा.लि.ले बजारमा ल्याउनेछ ।
पुस्तकका विशेषता
लेखक केसी भन्छन्, ‘समयको क्रममा मैले आफू जन्मेको माटो र आफना प्रियजनहरुलाई छोडेर रुँदै परदेशतिर भासिएका युवाहरुका आँखाका आँसु देखे । विविध कारणहरुले मानिसहरुको आत्मियतामा आएका दरार र उजाडिँदै गरेका कयौं घरहरू देखे । सबन्धहरूभित्रै मौलाउँदै गएको विरानोपन, सकस, उल्झन र छटपटीलाई नजिकबाट नियाले । सुचना प्रविधिको विकाससँगै आएका विकृति र मानिसहरुका आत्मा केन्द्रित सोच, महत्वाकांक्षा, लालसा र व्यभिचारहरू पनि देखे । संस्कृति, परम्परा र प्रथाका नाममा हुने शोषण, विभेद र उत्पीडनका कुरूपताहरू देखें । बिचौलियापन र विकृत कार्य संस्कृतिले न्याय विमुख भएका निमुखाहरुको कारुणीक अवस्था देखें ।’
लेखक केसी थप्छन्, ‘मलाई तिनीहरुको बारेमा केही लेखौं जस्तो लाग्न थाल्यो र मैले आँसुले भिजेका तिनीहरुकै कथाहरु लेख्दै गए र थोरै लेखकीय दृष्ठीकोण पनि मिसाए । कथाहरु माटो, समाज र जीवनसँग जोडिएका छन् । यथार्थको धरातलमा उभिएका छन् र फरक शैलिमा छन् । सबै कथा वर्तमान समयका विम्वहरु हुन् ।’

