काठमाडौं । कास्कीको पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ ।
अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् ।
उनले प्रहार गरेको खोया मन्चमा पुगेको थियो । तत्कालै रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ ।
रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए ।
उनी सूर्यदर्शन सहकारीका बचतकर्ता हुन् । सूर्यदर्शन सहकारीका सञ्चालक जीबी राई हुन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि राई फरार छन् ।
राईले उक्त सहकारीबाट ऋण लिएर ग्यालेक्सी फोर के टेलिभिजन खोलेको र ग्यालेक्सीमा उक्त सहकारीबाट लामिछानेले समेत ऋण लिएर संस्थापक सेयर लगानी गरेका थिए ।
लामिछानेले जीबी राईलाई संरक्षण गर्दै आएको स्रोत बताउँछ ।
मलाई खोया हान्नेलाई फूलको थुंगा दिएर घर पुर्याउनूः सभापति लामिछाने
सभापति लामिछानेले भने सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई प्रहार गर्ने पात्रलाई फूलको थुंगा दिएर घर पुर्याउन भनेका छन् । आफूमाथि जस्तोसुकै आक्रमण भएपनि आफ्नो अभियान जारी रहने उनले बताए ।
उनी तनहुँ, स्याङ्जामा कार्यक्रममा सहभागी भएर कास्की पुगेका हुन् । आजै शनिबार पोखराको जिरो किमिमा प्रदेश कार्यालय उद्घाटन गरी माछापुच्छ्रे गाउँपालिकास्थित महेन्द्र माविमा भेलामा सहभागी भए ।
