काठमाडौं । प्रहरीले महलिाको हत्या आरोपमा ६ वर्षदेखि फरार एक आरोपीलाई पक्राउ गरेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका(१४ का ३७ वर्षीय जगत विश्वकर्मालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
महिलाको हत्या गरी ६ वर्षदेखि फरार रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वकर्मालाई पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदैछन् भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई खोजी गरेको थियो ।
०७४ पुस ३० गते काठमाडौं महानगर १४ बल्खु भुवनेश्वर मन्दिर नजिकै एक महिलाको शव फेला परेको थियो । उक्त शव मकवानपुर हाँडीखोलाकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको थियो ।
उनी त्यतिबेला मजदुरी गर्थिन् । टाउको, मुखमा चोट लागेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको हत्या भएको ६ वर्षपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसी नेतृत्वको टोलीले आरोपी विश्वकर्मालाई पक्राउ गरेको हो ।
यो घटनामा संलग्न रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारी भने कारागारमै छन् । उनी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा पक्राउ परी ३ वर्ष कैद सजाय भएर केन्द्रीय कारागारमा छन् ।
जतिबेला हत्या भएकी तिमिल्सिना र अधिकारीबीच चिनजान थियो । जगतसँग भने तिमिल्सिनाको चिनजान थिएन । अधिकारीले तिमिल्सिनालाई भूपू सेनासँग विवाह गराइदिने र त्यसका लागि गहना लगाएर र २०-४० हजार रकम साथमा लिएर आउनु भनेका थिए ।
उनीहरूबीच ०७४ पुस २९ गते माछापोखरी क्षेत्रमा भेट भएको थियो । त्यहाँ करिब ३ घण्टा बसेर खानपिन गरी उनीहरू बल्खु पुगेका थिए । साँझ उनीहरू बल्खुको खोला किनारमा रहेको मन्दिर पछाडि बसेका थिए । त्यही मन्दिर पछाडि उनीहरु करिब दुई घण्टा सुतेका थिए ।
त्यसपछि भने शिवराम र जगतले ढुंगाले उनको टाउकोमा हिर्काएर सुनको मुन्द्री र खल्तीमा भएको ६-७ सय लिएर भागेका थिए । उनीहरू त्यसदिन गोंगबुको कोपिला गेष्ट हाउसमा बसेर अर्को दिन उदयपुरको कटारी गएका थिए । त्यसयता उनीहरू फरार रहेका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुवै जनालाई पक्राउ गरेको हो । कानुनी कारबाहीका लागि पीडित परिवारले प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएका थिए । थप अनुसन्धान गर्न कार्यालयले पनि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।
