काठमाडौं । लागूऔषध दुर्व्यसनीमा फसेकाहरुलाई राख्न कैलालीको धनगढीमा सुधार केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
मदिरा र लागूऔषधको दुर्व्यसनीमा फसेका व्यक्तिलाई सुधार गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीको फूलबारीमा सुधार केन्द्र सञ्चालन गर्न लागेको हो ।
दुई सयजना दुर्व्यसनीलाई राख्न मिल्ने क्षमताको आसरा सुधार केन्द्र केही दिनमै सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बाट सुधार केन्द्रको उद्घाटन गराउने तयारी छ । आईजीपी बसन्त बहादुर कुँवरले समेत सुधार केन्द्र सञ्चालनमा ल्याउन जोड दिएको बताइएको छ । तत्काल ५० जना दुव्र्यसनी राखेर सुधार केन्द्र सुरुवात गरिनेछ ।
सुधार केन्द्र सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले प्रदेश प्रहरी कार्यालयलाई फूलबारीमा एक बिघा १८ कट्ठा जग्गा र भवन उपलब्ध गराएको छ ।
जग्गा र त्यहाँ बनेका भवन उपमहानगरले प्रदेश प्रहरीलाई २० वर्षका लागि दिने र प्रदेश प्रहरीले त्यहाँ सुधार केन्द्र सञ्चालन गर्ने सहमति दुई पक्षबिच भएको हो ।
लागूऔषधको कुलतमा फस्ने युवायुवतीको संख्या बढ्न थालेपछि प्रहरीलाई जग्गा र भवन उपलब्ध गराएर सुधार केन्द्र सञ्चालन गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ ।
सुधार केन्द्रमा भर्ना हुने दुर्व्यसनीलाई औषधि उपचारसँगै मनोपरामर्श र ध्यान, योगहरू गराइने प्रहरीले जनाएको छ । दुर्व्यसनीलाई चार महिनादेखि आवश्यकताअनुसार त्योभन्दा बढी समय राखिने भएको हो।
सुधार केन्द्रमा रहँदासम्म उपचारसँगै मानसिक रोग विशेषज्ञले उनीहरूका आनीबानीको नियमित निगरानी गर्ने र कुलतमुक्त भएपछि घर पठाइने बताइएको छ ।
खान, बस्न, उपचारलगायत सबै व्यवस्थापनका लागि भर्ना हुन न्यून शुल्क निर्धारण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) भरत बोहराले लागूऔषध मुद्दामा पक्राउ परेकाहरू कैदमुक्त भएपछि उनीहरुलाई सुधार केन्द्रमा राख्न सकिने बताए ।
