काठमाडौं । नेपाल प्रहरीकै ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा पक्राउ परेका पूर्वकर्मचारी जेल चलान भएका छन् । किर्ते कागजपत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआईबी)ले पक्राउ गरेको पुष्करबहादुर बस्नेतलाई जिल्ला अदालत काभ्रेले थुनामा पठाएको हो ।
काभ्रे, पनौतीका ६४ वर्षीय बस्नेतले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेको अभियोग थियो ।
वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै नेपाल प्रहरीलाई दिएकोमा बस्नेतले आफ्नो निजी दाबी गर्दै नक्कली कागजपत्र तयार पारेको प्रहरी अभियोग छ ।
उनीविरुद्ध सिआईबीले किर्ते मुद्दा दायर गरेको थियो । २८ मंसिरमा जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको सिआईबीले जनाएको छ। बस्नेत मालपोतकै अवकाशप्राप्त नायब सुब्बा हुन्।
पनौती नगरपालिका– ६ मा पर्ने सो जग्गा कित्ता नम्बर ७५ अन्तर्गत पर्छ । नेपाल सरकारको निर्णयअनुसार ०५२ देखि नै प्रहरीले भोगचलन गर्दै आएको छ ।
सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ । बस्नेतले सो जग्गा आफ्नै दाबी गरी सर्वोच्च अदालतमा पनि मुद्दा दायर गरेका छन् ।
प्रहरीविरुद्ध मुद्दा हाल्ने बस्नेत मालपोत कार्यालयकै पूर्वकर्मचारी भएकाले उनले सरकारी कागजपत्र किर्ते गरी सच्याएको प्रहरी अधिकारी बताउँछन् । नापी हुँदाको बखत सो जग्गा वन क्षेत्रमा पर्ने उल्लेख थियो ।
