काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले आधुनिक युगमा प्रविधिको प्रयोग गर्दै समाजमा सुशासन कायम गर्न उपत्यका प्रहरी कटिबद्व रहेको बताए ।
बुधबार प्रहरी प्रभाग गोंगबु र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको भवन शिलान्यास गर्दै एआईजी थापाले सो कुरा बताएका हुन् ।
बागमती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालय, टोखा नगरपालिका, विभिन्न संघ संस्था तथा स्थानिय नागरीकको सामुहिक लगानीबाट उक्त भवन निर्माण गर्न लागिएको हो ।
एआईजी थापाले निर्माण हुन लागेका भवनहरू सबैको साझा सम्पत्ति भएको बताए । उनले प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पूर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पूर्ण गोंगबु तथा टोखा नगरपालिकाबासीलाई धन्यवाद व्यक्त गरे ।
अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको एआईजी थापाको बुझाई छ । उनले नयाँ निर्माण हुने भवनहरूले प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गरे ।
गोंगबु नयाँ बषपार्क जस्तो संवेदनशिल स्थानमा प्रहरी प्रभाग तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन निर्माणले आपराधिक गतिविधिविरुद्व प्रहरी कार्यमा थप सहज हुने एआईजी थापाले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँ संस्थाका अध्यक्ष केदारनाथ पाठक, टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र वहादुर खत्री, टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेर वहादुर बिसी, प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री,प्रहरी प्रभाग गोंगबुँका कार्यालय प्रमुख प्रहरी निरीक्षक, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरू र स्थानीयहरूको उपस्थिति रहेको थियो ।
