काठमाडौं । १० चैत २०७९ मा सरकारले नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) मा संगठनमा इमान्दार, हक्की र व्यवसायीक अधिकृतको छवी बनाएका बसन्त बहादुर कुँवरलाई नियुक्त गर्यो । उनको नियुक्तिसँगै संगठन सुधारको लयमा जाने धेरैको अपेक्षा थियो ।
किनकि उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुँदासम्म संगठनले दिएको जिम्मेवारी राम्रोसँग निभाउने अधिकृतको रुपमा चिनिन्थे । जसकारण संगठनमा जुनियर प्रहरी कर्मचारीदेखि सिनियर प्रहरी कर्मचारीसम्मको नजरमा उनी एक सफल प्रहरी अधिकृत थिए ।
प्रहरी संगठनको नेतृत्वमा आएसँगै उनको ८ महिने कार्यकालमा थुप्रै कामहरु भएको प्रहरी प्रधान कार्यालयको दाबी छ । यसअघि भद्रगोल रहेको सरुवा बढुवामा एउटा मापदण्ड लागू गरेका छन् । जुन इतिहासमै कुनै पनि संगठन प्रमुखले गर्न नसकेको काम हो ।
त्यस्तै पद रिक्त हुँदाहुँदै पनि हुन नसकेको बढुवा उनको कार्यलमा सहजै भएको पाइन्छ । यस्तै नियमित सरुवासमेत वर्षौंसम्म नभएर नैराश्यता छाएका प्रहरी कर्मचारीहरुमा अहिले कुँवर आईजीपी भएर आएपछि खुसी मात्र छैनन्, समयमै सरुवा समेत भएको छ ।
यसरी संगठनमा रहँदा २ वर्षे कार्यकालमा आफूलाई अब्बल र सफल आईजीपीको ट्याग भिराउन लागिपरेका कुँवरले नीति निर्माण तहमा थुप्रै कामहरु गरिरहेको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुवेर कडायतले बताए ।
‘उहाँ चिफसाप’को जिम्मेवारीमा आएदेखि नै नीति निर्माण तहको कामहरु सुरु भएको हो । त्यसैले जुन मापदण्डहरु लागू भयो अहिले आएर सबै विभागका कर्मचारीहरुलाई काम गर्न सहज भएको अवस्था छ । यो नै उहाँको कार्यकालको ठूलो उपलब्धी पनि हो,’ प्रवक्ता कडायतले भने ।
आईजीपी कुँवरको कार्यकालमा प्रहरी जवानदेखि एआईजीसम्मको सरुवाहरु भयो । जहाँ आफैंले ल्याएको मापदण्ड लागू भएको छ । जसले गर्दा शक्तिकेन्द्रमार्फत दबाब दिएर काज निकाल्न लगाई आफूले भनेको ठाउँमा जाने काम लगभग अन्त्यअन्त्य छ ।
त्यस्तै उनकै कार्यकालमा जवानदेखि एआईजीसम्मको बढुवा पनि भयो । केही बढुवामा कुने प्रहरी अधिकृतले असन्तुष्टि जनाए पनि समग्र रुपमा हेर्दा उक्त बढुवाहरु सन्तोषजनक थियो । जुन बढुवामा समेत मापदण्ड प्रयोग भएको थियो ।
त्यतिमात्र नभएर कुँवरले जब नेतृत्व सम्हाले, त्यसपछि नेपाल प्रहरीको फेसबुक पेज र ट्विटर समेत सक्रिय रुपमा सञ्चालन भइरहेको पाइएको छ । यसअघिका नेतृत्वको कार्यकालमा उक्त पेजबाट आफ्नो कार्यक्रमको मात्र समाचारहरु पोष्ट गरिन्थ्यो ।
तर, अहिले समाचारहरु मात्र नभएर सन्देशमूलक भिडियो र सूचनाहरु समेत पोष्ट हुने गरेको छ । जसले गर्दा समाजमा हुने आपराधिक घटनाहरुमा समेत कमी आउने प्रधान कार्यालयको दाबी छ । यसरी दिनहुँ एउटा न एउटा सूचना पोष्ट गरिदिँदा धेरैले सेयर समेत गर्ने गरेको प्रवक्ता कडायत बताउँछन् ।
सामाजिक सञ्जालमार्फत धेरै कुराहरु एकभन्दा धेरै व्यक्तिहरुले सेयर हुने भएपछि आईजीपी कुँवरले समाजमा हुने आपराधिक क्रियाकलापहरु रोक्न आफ्नो सचिवालय टिमलाई मजबुत बनाएका हुन् । जसको प्रभाव उल्लेखनीय देखिएको छ ।
नेपाल प्रहरीको फेसबुक पेजमार्फत समाजमा हुने हिंसा, हत्या, गुण्डागर्दी, आत्महत्या रोकथाम, वेथिति, विकृतिविरुद्ध र सन्देशमूलक सूचनाहरु पोष्ट हुने गरेको छ । सकारात्मक रुपमा उपयोग गरिँदा यहीँबाट जनचेतना फैलिएको प्रधान कार्यालयको दाबी छ ।
हिजोआज सामाजिक सञ्जालमा व्यक्त भावना, धारणाका कारणले कडा कानुनी सजायको हकदारसमेत बन्नुपर्ने कानुन बनिसकेको अवस्थामा प्रहरी प्रधान कार्यालयले भने सकारात्मक खालका सूचनाहरु पोष्ट गरेर आफूलाई अब्बल साबित गरेको हो ।
‘सामाजिक सञ्जाल चलाउँदा राम्ररी जानकारी मात्र चलाउनु पर्ने हुन्छ । सत्यतथ्य र सोचविचारपछि मात्र कतिपय कुरा अपडेट गर्नुपर्ने हुन्छ । कसैको घर–परिवारलाई नराम्रो असर पर्ने गरी काल्पनिक कुरा अपडेट गर्नु हुँदैन, ‘प्रवक्ता कडायत भन्छन् ।
