काठमाडौं । नरभक्षी बाघले गत शुक्रबार बिहान पौने १० बजेतिर चितवन राप्ती नगरपालिका-१ दुबिचौरका ४३ वर्षीय हरि प्रसाद पौडेललाई आक्रमण गरेर ज्यान लिएको थियो ।
दुविचौरनजिकैको मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र जोगीतालमा घाँस काट्न गएका पौडेललाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
मान्छेको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको टोली खटिएको थियो । तर, उक्त बाघलाई नियन्त्रणमा लिएको ठाउँमा अर्को शव पनि भेटिएको छ ।
मान्छे मारेको बाघलाई नियन्त्रण गर्न गएको निकुञ्जको टोलीले बाघले खाएको अर्को शव पनि फेला पारेको हो । बाघको आडैमा अर्को शव पनि भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
मान्छे मार्ने बाघ आइतबार राति पौने ९ बजेतिर नियन्त्रणमा आएको उनले जानकारी दिए । ‘भेटिएको शवको कम्मरदेखि माथिल्लो भाग छैन । अन्दाजी १८र२० वर्षको युवकको भएको अनुमान गर्न सकिनेछ,’ तिवारीले भने ।
यता, शुक्रबार घटना भएकै दिनदेखि गाउँका एक जना युवक हराइरहेको बताइएको छ । तल्लो भागको कपडा र अन्य संकेतका आधारमा शवको पहिचान गर्न खोजिँदैछ ।
