काठमाडौं । नेपाली सेनाका उपरथी अशोक सिग्देल रथी पदमा बढुवाको लागि सिफारिस भएका छन् । शुक्रबार रथी सीताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको हो ।
सैनिक सचिव सहायक रथी ज्योतेन्द्र महतले एक सूचना जारी गर्दै बढुवा सिफारिस निर्णय चित्त नबुझ्ने सैनिक व्यक्तिले सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहित निवेदन पेश गर्न आग्रह गरेका छन् ।
बलाधिकृतरथी सरोजप्रताप राणाले अवकाश पाएपछि उनको ठाउँमा बरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो ।तर, पाण्डेको उमेर विवादका कारण उनले दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको बढुवा प्रक्रिया अघि बढेको हो ।
सिग्देल भावी प्रधानसेनापति बन्ने दौडधुपमा लागेका छन् । रथीमा बढुवा भएको ९ महिनापछि सिग्देल प्रधानसेनापति बन्ने लगभग पक्कापक्की जस्तै छ ।
तर सिग्देल जन्ममिति विवादमा तानिएका छन् । नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
भावी प्रधानसेनापतिसँग जोडिएको रथी बढुवा विवादमा आएपछि सेनाले सिग्देलको समेत छानविन गरेर प्रक्रिया अघि बढाएको बताइएको छ ।
जन्ममिति विवादमा अख्तियारले थालेको अनुसन्धानमा सिग्देलको जन्ममिति अलग अलग भएको पुष्टि भएमा उनको सेनापति बन्ने बाटो बन्द हुन पनि सक्छ ।
हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकाश पाउनेछन् । उनको ठाउँमा अहिले रथी बढुवा हुने सैनिक अधिकृत सेनाको भावी प्रधानसेनापति नियुक्त हुने भएकाले समेत यसलाई महत्वका साथ लिइएको हो ।
सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त थियो । प्रधानसेनापति शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलो पटक रथीको दरबन्दी रिक्त भएको हो ।
शर्माले नै राजीनामा दिएका ताराध्वज पाण्डेको बढुवा प्रक्रिया अघि बढाउन जोडबल गरेको थिए । तर, जन्ममिति विवादमा सर्वत्र चर्को आलोचना भएपछि पाण्डेले राजीनामा दिएका हुन् ।
रथी बढुवाको लाइनमा यसपछि उपरथीहरु निर्मल थापा, सन्तोष ढकाल र बाबुराम श्रेष्ठ समेत छन् । थापाको शैक्षिक योग्यतामा समेत प्रश्न उठेकाले अर्का रथी सिताराम खड्काले पुस ३ गतेपछि अवकाश पाउने ठाउँमा कस्को बढुवा हुने भन्ने टुंगो लाग्न बाँकी नै छ ।
त्यस्तै उपरथी बढुवाको लाइनमा रहेका सहायकरथी सन्तोषबल्लव पौडेलले समेत १८ वर्ष नपुग्दै सेनामा जागिर खाएको भन्दै अहिले सैनिक मुख्यालय र रक्षा मन्त्रालयमा उजुरी परेको छ ।
