बारा । बाराको कलैया उपमहानगरपालिका-६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न भएको भन्दै प्रहरीले आज ५ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीले २२ वर्षीया राधा गुप्तासहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको हो ।
बारा प्रहरीले यस घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की राधा रहेको जनाएको छ। उनी बाल एकता स्कुलकी पूर्वलेखापाल समेत हुन् ।
पक्राउ परेका दुई जना हाल सोही विद्यालयमा काम गर्ने गरेको खुलेको छ । उनीहरूले यस घटनामा सहयोगी भूमिका खेलेको अनुसन्धानमा खुलेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले पत्रकार सम्मेलनमा बताए ।
त्यस्तै अन्य दुई जना भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमारले खबर संकलन र आदानप्रदान गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
एसपी काफ्लेका अनुसार हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबी रहेको बताए । पक्राउ परेकी राधा तीन वर्षदेखि भारतीय नागरिक मनोज गुप्तासँग प्रेममा रहेको पनि देखिएको प्रहरीले जनाएको छ ।
मनोजसँग प्रेम भए पनि रुपेश स्वर्णकार र राधाबीच पनि प्रेमसम्बन्ध रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । राधा र रुपेश बिचको अनैतिक सम्बन्धको विषय लाई लिएर राधा, मनोज र रूपेशबीच विवाद र झगडा भएकाले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा काफ्लेले बताए ।
राधाले भारतीय नागरिक मनोजसँग मिलेर सुटरलाई भाडामा लिएर हत्या गरेको देखिएको एसपी काफ्ले बताउँछन् । चन्दन र कुमारले रुपेशका हरेक गतिविधिको निगरानी गरेर गोली हानेका थिए । सुटर प्रयोग गर्ने मुख्य व्यक्ति मनोज फरार भने फरार रहेका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकार एक महिला सहित ५ जनालाई सार्वजनिक गरेको हो ।
गत सोमवार १२ गते २ वटा मोटरसाइकलमा आएको समूहले रुपेशको गोली हानेर हत्या गरेको थियो । कलैयाको रोजमेरी रेस्टुरेन्टबाट खाजा लिएर फर्कँदै गर्दा गोली प्रहार भएको थियो ।
स्थानीयका अनुसार पहिलो मोटरसाइकलमा रहेका व्यक्तिले गोली प्रहार गर्दा रुपेश जोगिएका थिए । दुईजना चढेको दोस्रो मोटरसाइकलमा रहेका व्यक्तिले गोली प्रहारबाट उनको मृत्यु भएको हो ।
