काठमाडौं । नेपाल प्रहरी नेपालको गैरसैनिक प्रहरी सेवा हो । यसको औपचारिक स्थापना वि.सं २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो ।
तर, २००७ सालको क्रान्तिपछि नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरुलाई संगठित रुपमा परिचलान गर्न सन् १९५१ प्रहरी प्रधान कार्यालयको स्थापनाको गरिएको थियो ।
त्यसपछि प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षक (आईजी)लाई दिइएको थियो । तर, हालसम्म नेपाल प्रहरीमा कतिजना आईजी भइसकेका छन् ? त्यस्तै नेपाल प्रहरीका पहिलो आईजी को हुन् ? धेरैलाई थाहा नहुन पनि सक्छ ।
सोहीबारे हामीले तपाईं पाठकवर्गहरुलाई जानकारी गराउने प्रयास गरेका छौं ।
१. तोरण शमशेर ज.ब.रा
नेपाल प्रहरीको पहिलो आईजी हुन् तोरण शमशेर ज.ब.रा. । प्रधान कार्यालयको स्थापनापछि ज.ब.रा.लाई २००७ चैतमा आईजी नियुक्त गरिएको थियो । पहिलो आईजीको रुपमा कार्यभार सम्हालेका ज.ब.रा. ३ दिनभित्रै षड्यन्त्रको शिकार बने र पदच्यूत भए ।
२. नर शमशेर जबरा
तोरण शमशेर पदच्यूत भएपछि दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबरा नियुक्त भए । उनले २ वर्ष अर्थात २००७ चैतदेखि २०१० मङ्सिरसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हाले ।
३. ज्ञानबहादुर याक्थुम्बा
नेपाल प्रहरीको तेस्रो प्रहरी महानिरीक्षक हुन् याक्थुम्बा । उनले प्रहरीमा भर्ना सेनाको मेजर पदबाट गरेका थिए र पछि नर शमशेर जबरापश्चात २०१० माघ २८ मा उनी महानिरीक्षक भएका थिए ।
२०१० मंसिरदेखि २०१२ भदौसम्म महानिरीक्षकको रुपमा काम गरे । महानिरीक्षकबाट अवकाश पाएपछि उनी बर्माका लागि नेपाली राजदूत भए । उनी स्वतन्त्रता सेनानी, मानव अधिकारको प्रवक्ता, गरिबजनको नायकका रूपमा पनि स्थापित थिए ।
४. गोपाल शमशेर ज.ब.रा.
गोपाल शमशेर ज.ब.रा नेपाल प्रहरीको चौथौं महानिरीक्षक हुन् । २०१२ भदौदेखि २०१३ साउनसम्म उनले महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए । उनी राणा विरोधी अभियानमा समेत लागेका थिए ।
५. पूर्ण सिंह खवास
खवास नेपाल प्रहरीको पाँचौं महानिरीक्षक हुन् । उनले २०१३ साउनदेखि २०१४ भदौसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हालेका थिए ।
६. ढुण्डिराज शर्मा
छैटौं महानिरीक्षकको रुपमा ढुण्डिराज शर्माले जिम्मेवारी सम्हालेका थिए । उनले २०१४ भदौदेखि २०१८ पुससम्म चार वर्ष जिम्मेवारी पाएका थिए ।
७. पहल सिंह लामा
नेपाल प्रहरीको आठौ महानिरीक्षक हुन् लामा । नेपाल प्रहरी क्लबको स्थपना गर्न उनको योगदान उल्लेखिनेय छ । महानिरीक्षकबाट अवकाश पाएपछि उनी कोलकाताको क्न्सुलर जनरलको पदमा थिए ।
उनी २०१८ पुसदेखि २०२३ असारसम्म महानिरीक्षक भए ।
८. रोम बहादुर थापा
थापा आठौं महानिरीक्षक हुन् । मगर समुदायबाट प्रहरी महानिरीक्षक हुने प्रथम व्यक्ति समेत हुन् । उनले २०२३ असारदेखि २०२९ असारसम्म नेतृत्वमा रहेर काम गरेका थिए ।
९. खड्गजित बराल
बराल नेपाल प्रहरीका नवौं महानिरीक्षक हुन् । संगठनमा सबैले मन पराउने नेतृत्वमा पर्छन् बराल । इमान्दार स्वभावका बरालले २०२९ असारदेखि २०३५ जेठसम्म नेतृत्वमा रहेर काम गरे ।
प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत, इन्डोनेसिया, सिंगापुर र फ्रेन्च इन्डोचाइना (लाओस, कम्बोडिया, भियतनाम)को लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी वहन गरेका थिए ।
बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद समेत भएका थिए । सांसदको रूपमा सेवा समाप्त गरेपछि उनी युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भए ।
१०. दुर्लभ कुमार थापा
नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक थापाले २०३५ सालमा कार्यभार सम्हालेका हुन् । उनकै अग्रसरतामा निर्मित आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना उल्लेखनीय छन् ।
सन् २०१३ मा पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए ।
उनले २०३५ साउनदेखि २०३९ जेठसम्म कार्यभार सम्हालेका थिए ।
११. दिलबहादुर लामा
भूतपूर्व नेपाल प्रहरी संगठनका संस्थापक अध्यक्षसमेत रहेका लामाले ०११ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका थिए ।
००७ सालमा स्थापना भएको प्रहरीमा ११ औँ संगठन प्रमुखको रूपमा ०३९ असारदेखि ०४३ जेठसम्म महानिरीक्षक बनेका लामाले आफ्नो कार्यकालमा संगठनलाई आधुनिकीकरण र साधनस्रोत सम्पन्न बनाउन अग्रसरता देखाएका थिए ।
उनकै कार्यकालमा ०४३ सालमा नेपाल प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन थालिएको हो । त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइदैँन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो ।
१२. हेम बहादुर सिंह
हेमबहादुर सिंह नेपाल प्रहरीको बाह्रौ महानिरीक्षक हुन् । उनलाई चिन्नेहरुले खाकी पोशाक लगाउने अधिकृतको रुपमा चिन्थे । उनलाई ५७ औँ प्रहरी दिवसका दिन सम्मान गरिएको थियो ।
उनले चार वर्ष २०४३ असारदेखि २०४७ जेठसम्म नेतृत्वको रुपमा कार्यभार सम्हालेका थिए ।
१३. रत्नशमशेर ज.ब.रा
उनी नेपाल प्रहरीका १३ औं महानिरीक्षक हुन् । विक्रम सम्वत २०४७ असारमा प्रहरी महानिरीक्षक बनेका राणालाई तत्कालीन सरकारले २०४९ फागुनमा ३० वर्षे सेवा अवधि लगाएर हटाएको थियो ।
१४. मोतिलाल बोहरा
३० वर्षे सेवाअवधि लागू भएपछि राणालाई हटाएर सरकारले मोतिलाल बोहरालाई महानिरीक्षकमा बढुवा गरेको थियो । बोहरा १४ औं महानिरीक्षक हुन् ।
२०४९ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । उनले आफ्नो चार वर्षे पूरै कार्यकाल २०५३ माघसम्म खाएर अवकाश पाएका थिए ।
१५. धुव्रबहादुर प्रधान
प्रधान १५ औं महानिरीक्षक हुन् । २०५३ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका थिए । २०५४ मंसिरसम्म नेतृत्वमा रहेका प्रधान हाल राप्रपाबाट सांसद समेत छन् ।
१६. अच्युतकृष्ण खरेल
खरेल नेपालका १६ औं महानिरीक्षक हुन् । २००३ फागुन २८ गते काभ्रेमा जन्मेका खरेल २०२७ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । निरीक्षकमा प्रवेश गरेका उनले ३१ वर्षको अन्तरालमा महानिरीक्षकसम्मको जिम्मेवारी बहन गरेका थिए ।
उनी माओवादी जनयुद्धको बेलामा प्रहरी महानिरीक्षक नियुक्त भएका हुन् । खरेलले २०५३ फागुनदेखि २०५३ चैत र २०५४ मंसिरदेखि २०५७ असोजसम्म नेतृत्वको जिम्मेवारी वहन गरेका थिए ।
१७. प्रदीप शमशेर जबरा
जबरा नेपाल प्रहरीको १७ औं महानिरीक्षक हुन् । २०५७ असोजपछि २०५९ पुससम्म नेतृत्वमा रहेका जबरा संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्थे ।
१८. श्यामभक्त थापा
श्याम भक्त थापा नेपाल प्रहरीका १८ औं महानिरीक्षक हुन् । २०५९ सालमा उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । २०५९ पुसदेखि २०६३ भदौसम्म उनले नेतृत्व गरेका थिए ।
१९. ओम विक्रम राणा
ओम विक्रम राणा २०६३ सालमा प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् । उनले २ वर्ष अर्थात २०६५ भदौसम्म महानिरीक्षकको भूमिकामा रहेर काम गरेका थिए ।
उनलाई विशेष अदालतले २०६८ फागुन १ मा संयुक्त राष्ट्रसंघको मिसन अन्तर्गत सुडानको डार्फरमा खटिएका नेपाल प्रहरीका लागि आवश्यक एपिसी सामग्री खरिदमा अनियमितता गरेको सुडान घोटालामा भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
२०. हेमबहादुर गुरूङ
गुरूङ नेपाल प्रहरीको २० औं महानिरीक्षक हुन् । उनले २०६५ असोजदेखि २०६५ फागुन चार महिनासम्म संगठनको नेतृत्व गरेका थिए । उनी पनि सुडान घोटालामा मुछिए ।
२१. रमेश चन्द ठकुरी
रमेश चन्द ठकुरी २१ औं प्रहरी महानिरीक्षक हुन् । २०६५ फागुनदेखि २०६८ जेठसम्म प्रहरी नेतृत्वमा रहेका चन्दसमेत सुडान घोटालामा मुछिएका अधिकृत हुन् ।
२२. रविन्द्र प्रताप शाह
२२ औं प्रहरी महानिरीक्षक हुन् रविन्द्र प्रताप शाह । २०६८ जेठ १८ गतेदेखि २०६९ भदौ २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हालेका शाह धादिङका हुन् ।
२०३९ साल भदौ २९ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गरी क्रमैसँग पदोन्नती हुदै २०६५ साल असोज २ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका थिए उनी ।
सादा जीवन उच्च विचारको जीवन शैलीबाट अभिप्रेरित शाह प्रहरी सेवाप्रति निष्ठावान, व्यावसायिक र ईमान्दार प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । आवश्यक सबै तालिमहरू प्राप्त गर्नुका साथै उनी विभिन्न विभुषणबाट सम्मानित भएका छन् ।
२३. कुवेर सिंह राणा
कुवेर सिंह राना नेपाल प्रहरीका २३ औं महानिरीक्षक हुन् । उनलाई तत्कालिन सरकारले २०६९ भदौ २८ गते प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो । उनी २०४० कात्तिक ३० गतेबाट प्रहरी निरीक्षकको रुपमा सेवामा प्रवेश गरेका थिए ।
निरीक्षक पदमा भर्ना भएका राना २०४६ साल माघ १० गते प्रहरी नायब उपरीक्षक, २०५४ पुस १९ गते प्रहरी उपरीक्षक, २०६१ सालमा प्रहरी वरिष्ठ उपरीक्षक, २०६५ सालमा प्रहरी नायब महानिरीक्षक र २०६८ साल असार ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए ।
उनले २०७० कात्तिक ३० गतेसम्म प्रहरीको नेतृत्व गरेका थिए ।
२४. उपेन्द्र कान्त अर्याल
उपेन्द्र कान्त अर्याल नेपाल प्रहरीका २४ औं आईजीपी हुन् । २०७० मङ्सिरदेखि २०७३ फागुनसम्म प्रहरी प्रमुखको पदमा नियुक्त भएका अर्याल संगठनमा कडा र हक्की स्वभावका अधिकृतको रुपमा चिनिन्थे ।
२५. प्रकाश अर्याल
२५ औं आईजी भएका प्रकाश अर्याललाई सरकारले २०७३ चैत २८ मा प्रहरी प्रमुखमा नियुक्त गरेको हो । सुरुमा सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो ।
तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछि अर्यालको भाग्य चम्केको थियो । अर्यालले २०७४ चैत २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने अवसर पाएका थिए ।
२६. सर्वेन्द्र खनाल
सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई २०७४ चैत २६ गते बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो ।
२०७६ माघ २७ गतेसम्म प्रहरीको नेतृत्वमा रहेका खनाल अवकाश पाएको केही समयपछि अर्थात २०७९ असोज ६ गते नेकपा (एमाले)मा प्रवेश गरेका थिए । उनले गत निर्वाचनमा काठमाडौं ६ बाट उम्मेद्वारी समेत दिएका थिए। तर, पराजित भए ।
२७. ठाकुर प्रसाद ज्ञवाली
ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीका २७ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई विसं २०७६ माघ २८ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो ।
सर्वेन्द्र खनालले अवकाश पाएपछि माघ २९ मा ज्ञवालीले प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । उनले २०७६ माघ २८देखि २०७७ असार २३ गतेसम्म प्रहरीको नेतृत्व सम्हालेका थिए ।
२८. शैलश थापा क्षेत्री
२८ औँ प्रहरी महानिरीक्षक हुन् थापा । उनलाई २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो ।
थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । थापाका बुबा पनि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक थिए । बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको उनी बताउने गर्छन् ।
उनले २०७९ वैशाख १८ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारी बहन गरेका थिए । संगठनमा उनी इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्थे ।
२९. धीरज प्रताप सिंह
२०७९ वैशाख १७ गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका धीरज प्रताप सिंह २९ औं प्रहरी प्रमुख हुन् । २०७९ चैत १० गतेसम्म नेतृत्वमा रहेका सिंह संगठनका अब्बल अधिकृतको पहिचान बनाएका थिए ।
तर, आफ्नो एक वर्षे नेतृत्वको कार्यकालमा सिंह धेरै नै विवादमा मुछिए ।
३०. वसन्त बहादुर कुँवर
हालका प्रहरी महानिरीक्षक हुन् बसन्त कुँवर । २०७९ चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट ३० औं प्रहरी महानिरीक्षक नियुक्त भएका कुँवर संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका हुन् । त्यसपछि क्रमशः २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फागुन १० गते प्रहरी उपरीक्षकमा पदोन्नती भए ।
त्यस्तै २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका थिए कुँवर ।
त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गर्नुभएका प्रहरी महानिरीक्षक कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याकंन २०७३ तर्फ सर्वोत्कृष्ट हुन सफल भई पुलिस व्याटन समेत प्राप्त गरेका छन् ।
उनको कार्यकालमा थुप्रै कामहरु समेत भएको छ । जसले गर्दा पछिल्लो समय प्रहरी संगठनको गरिमा समेत बढेको आभाष लिन्छन् आईजी कुँवर ।
